एक शिक्षकको संघर्षगाथा र साहित्यप्रेम – Nepal Press

एक शिक्षकको संघर्षगाथा र साहित्यप्रेम

रुपन्देही । रुपन्देही र पाल्पाको दोभानको एक विद्यालयमा लामो समय अध्यापन गरेका दलबहादुर गुरुङको परिचय कहिल्यै मास्टरीमा मात्रै सीमित रहेन । गाउँको विद्यालयमा साढे २१ वर्ष शिक्षण गरेर सेवानिवृत्त भएका उनलाई पहिलेदेखि नै पढाउनेबाहेक घुम्ने, जे देख्यो टिप्ने, लेख्ने र प्रकाशन गर्ने लत बसेको थियो । उनले चकडस्टर छाडेको पनि ७ वर्ष भयो तर उनका अक्षरखेती त्यसपछि झन् मौलाएको छ ।

गाउँटोलको विकासे राजनीतिसँगै निरन्तर लेखन उनको दैनिकी जस्तै हो । नागरिकले बोल्ने र बुझ्ने भाषामा लेख्ने लेखकको पहिचान बनाएका गुरुङलाई गाउँटोलको विकासको पनि उस्तै पिरलो छ । अहिले रुपन्देहीमा बस्न थाले पनि उनी पाल्पाको विकास कसरी गर्ने भनेर घोत्लिरहन्छन् । र पटक–पटक ,पाल्पा पुगिरहन्छन् ।

शिक्षण पेसाको सुरुवात

साथीहरुको लहैलहैमा २०४८ सालमा रुपन्देहीको भैरहवा शिक्षा कार्यालयमा पुगेर शिक्षा आयोगको फारम भरे । परीक्षा दिए । लिखितमा नाम निस्कियो ।

उनी भन्छन्– अन्तर्वार्तामा अनेक भाँतीका प्रश्नहरु सोधे, सकेजतिको उत्तर दिएँ । नतिजा आउँदा राम्रै आयो । मेरो नाम शिरतिरै निस्कियो । नाम निस्किएपछि खुसी लाग्यो । दुःख पनि । जागीर खानुअघि बटौली बजारमा व्यापार गरिन्थ्यो । आफ्नै व्यापार थियो । स्कुलजस्तो १०–४ बजाउनु पर्थेन । आफ्नो खुशी थियो । दैनिक पैसो छाम्न पाइन्थ्यो । खल्तीमा पैसो कहिले टुट्थेन । शिक्षण पेसामा लागेपछि कहिलेकाँही ४ महिना पैसो देख्न नपाउँदाको पीडा सुनाउन सक्दिनँ ।

साथीहरुको लहैलहैमा २०४८ सालमा रुपन्देहीको भैरहवा शिक्षा कार्यालयमा पुगेर शिक्षा आयोगको फारम भरे । परीक्षा दिए । लिखितमा नाम निस्कियो ।

आमाले यस्तो जागीरबाट उन्नती हुँदन भनेर धेरै सम्झाउनुभयो, गुरुङलाई । अनि उनले जागिर छाड्ने प्रयास पनि गरे । तर साथीहरुले स्थायी जागीर छोड्नु हुँदैन । साथीहरु भन्थे– भोलिपर्सि तलबमा वृद्धि हुन्छ । बुढेसकालमा पेन्सन खान पाइन्छ । उनी भन्छन्– साथीहरुको कुरा हो जस्तै लाग्यो । जागिरमा टिकियो । सुरुमा जागिर रुपन्देहीको हरैया माविमा थियो । पछि तराईको सुविधा छाडेर पाल्पातिर उक्लिइयो ।
दोभान माविका तत्कालीन सहायक प्रधानाध्यापक अमर प्रधानले बटौली छाडेर पाल्पा नजान सुझाएको सम्झन्छन्, गुरुङ । अहिले उनी पछुताउँछन् ।

उनी शिक्षण गर्दाका दुःख, संघर्षका सन्दर्भ यसरी बताउँछन्–

हरैया मामिमा नियुक्तिपत्र बुझेर फित्तेवाला चप्पल पड्काउदै भदौ महिनामा जाँदा त्यहाँका शिक्षकहरुले मेरो रुपलाई बेस्सरी तलदेखि माथिसम्म नियालेका थिए । त्यो उनीहरुको दृष्टि आजसम्म मस्तिष्कमा नाचिरहन्छ । सबैलाई लागेको हुन सक्छ– यो जाबो फुच्चाले के पो पढाउँला ! शुक्रबारको दिन थियो । नियुक्तिपत्र बुझाएर पहिलोपटक हाजिर भएँ । आइतवारदेखि पढाउन आउँछु भनें । अनि थोत्रो साइकलमा घरतिर हुँइकिएँ ।

‘नामर्दले खाने जागिर भन्दा झस्किएँ’

एकदिन हरैयामा रहेको गुरुङ गाउँमा स्वागतका लागि बोलाइयो । निधारभरि रातोटीका र माला लगाइ स्वागत गरे । त्यति नै बेला एकजना रिटायर्ड लाहुरेले भनेका थिए– केटा तैले बाहुनले खाने जागिर खाइस् । यो त नार्मदले खाने जागिर पो हो ! मगर, गुरुङ त लाहुरे हुने पो हो !
उनले बोलेका शब्दले स्वागत होइन, अपमान गरिहरेको भान भो मलाई । म केही बोल्न सकिनँ र अन्त्यमा मैले भनेको थिएँ– जागिर र मान्छेको कुनै जात हुँदैन । हरैया पहाडीयाहरुको रमाइलो तराई बस्ती हो । मैले जागिर खान गइसकेपछि पाल्पाको दोभानबाट मिल्ने साथी राजेश श्रेष्ठलाई इभरग्रीन बोर्डिङ स्कुलमा प्रिन्सिपल हेम मल्ल ठकुरीसँग कुराकानी गरी जागीरका लागि उतै लगेको थिएँ ।

आइकम पास भएपछि ऊ दोभान फर्कियो । अनि मलाई हरैया बस्न मन लागेन । फर्कने विचार गरें । हजारौं बिन्तिपछि हरैया उमाविबाट दोभानको नुवाकोट सरुवा भइ आउने अवसर पाएँ । पाल्पा, दोभानको नुवाकोटमा ४ वर्ष पूरै बिताइयो ।

त्यतिबेलाको हौसला, अहिले गरिखाने औजार !

दोभान मावि जागिर सरुवा हुन साह्रै गाह्रो भो । अन्तिममा सबैको सहयोगले सर्ने मौका पाइयो । म सरुवा भइआउँदा रुपकुमार क्षेत्री हेडसर हुनुहन्थ्यो, दोभान माविमा । दोभान माविमा आउँदा मैले आइकम उत्तीर्ण गरिसकेको थिएँ ।

साथै सिएमएमा नेपाल दोस्रो हुने अवसर प्राप्त गरिसकेको थिएँ । यदि शिक्षा क्षेत्रमा नआएको भएँ म यतिबेला स्वास्थ क्षेत्रमा हुन्थें । मेरो पढाइ पूरा भएको ठानेर हात बाँधेर बस्ने विचार गरेको थिएँ ।

एकदिन रुपकुमार सरले भन्नुभयो– दलबहादुर तिम्ले जे जसरी भएपनि बिएड उत्तीर्ण गर्नुपर्छ । उहाँको वचन राख्नका लागि भरतपुर चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भर्ना भएँ । निरन्तर क्याम्पसको कक्षा नलिइ परीक्षाका बेलामा जाँच दिएर बिएड उत्तीर्ण गरें ।

उहाँ रुपन्देहीको भैरहवा सरुवा हुनुअघि नै मैले बिएड पास गरिसकेको थिएँ । सायद म पास हुँदा मभन्दा रुपकुमार सर धेरै खुशी हुनुहुन्थ्यो । उहाँको हौसला मेरो लागि आज गरिखाने औजार भएको छ ।

उहाँले दिनुभएको हौसलाले दुई विषयमा स्नातकोत्तर गरेर उच्च मावि अध्यापनका लागि सहायक बन्यो ।

पत्रकारिता पढाउँदाको आनन्द

रुपकुमार क्षेत्री भैरहवा सरुवा भइ जानुभयो र भेषराज पोखरेल निमित्त हेडसर बन्नुभयो । उहाँका समयमा दोभान माविलाई उच्च मावि बनाउनुपर्छ भनेर धेरैपटक बैठक छलफल र अन्तरक्रिया भए ।

त्यति समयमा नै पश्चिमाञ्चल विकास क्षेत्रको पहिलो स्कूलका रुपमा यस विद्यालयमा पत्रकारिता विषय पढाइका लागि पहल र सुरुवात भयो । पत्रकारिताका कारण राष्ट्रिय रुपमा यस विद्यालयले चर्चा पायो ।

अहिले त शिक्षण पेसा जागिर होइन, समाज परिवर्तन गर्ने यात्रा रहेछ जस्तो लाग्छ । एकजना शिक्षकले भुलेर पनि गल्ती गर्यो भने एक युगलाई नै गलत मोडमा पुर्याउँछ । तसर्थ १०–४ को ड्युटी मात्रै शिक्षण होइन ।

शिक्षा पत्रकार समूह काठमाण्डौ, पत्रकार महासंघ रुपन्देही र पाल्पाका जिम्मेवार पत्रकारहरु दोभान माविमा पढाइ हुने विषयका बारेमा बुझ्न आए । मार्टिन चौतारी, नेपाल प्रेस इन्स्च्यिूटलगायतका संस्थाहरुले पत्रकारितासम्वन्धी पुस्तक दिएर सहयोग पुर्याएका थिए ।

पत्रकारितामा विद्यार्थीको उत्तीर्ण दर राम्रो थियो । एसएलसीमा शतप्रतिशत उत्तीर्ण भइरहेका छन् । तर, खोइ किन यो विषय नपढाउने कुरा व्यवस्थापन पक्ष सम्हालेका मित्रहरुले गरे ? तरपनि पहिलोपटक यो विषय पढाउने पहिलो शिक्षकका रुपमा आफूलाई उभ्याउन पाउँदाको क्षण मैले शब्दमा उतार्न सक्दिनँ ।

‘शिक्षण जागिर मात्रै होइन रहेछ’

अहिले त शिक्षण पेसा जागिर होइन, समाज परिवर्तन गर्ने यात्रा रहेछ जस्तो लाग्छ । एकजना शिक्षकले भुलेर पनि गल्ती गर्यो भने एक युगलाई नै गलत मोडमा पुर्याउँछ । तसर्थ १०–४ को ड्युटी मात्रै शिक्षण होइन ।

कहिलेकाहीँ विद्यालयका लागि समयको खाँचो पर्यो भने सक्दो समय दिन मात्र होइन, नियमित एक–दुई घण्टा विद्यालयको लागि समय छुट्याएर नयाँ सोच सकृयताकासाथ अघि बढ्नुपर्छ, हरेक शिक्षकले । तर, हामी शिक्षकहरु चार बजेको घण्टी पनि ढिलो लाग्यो कि भनेर कहिलेकाँही घडीलाई दोष दिन पछि पर्दैनौं ।

हामीलाई जहिले पनि हतार हुन्छ । हतारको बयान गरी साध्य हुँदैन । आखिर हतारको अन्त्य एकदिन हुन्छ नै । त्यसैले धैर्यता पनि उत्तिकै खाँचो पर्दछ । हतार र धैर्यताको फ्युजनबाट नयाँ सोच र विचारको जन्म हुने भएकोले यी दुवै पक्षलाई मिलाएर लैजानुपर्छ ।

पीडाभित्रै खुसी खोज्नुपर्ने रहेछ !

गन्थनको उचित मन्थन भएमा नयाँ विचारले जन्मने मौका पाउँदो रहेछ । शिक्षक हुँदाका पीडा थुप्रै छन् । तर पनि पीडाभित्र सुख खोज्नु पर्दोरहेछ । सुख आफैं झ्याली पिटेर आउँदो रहेनछ । मुखमा गास पार्न र सास जोगाउन शिक्षकहरुलाई कठिन हुँदोरहेछ ।

धेरैजसो चार्डपर्वहरुमा इज्जत जोगाउन मुस्किल पर्दो रहेछ, यस पेसामा । आफन्ती टाढा हुँदा रहेछन्, मास्टरको जागिर भनेपछि त । बुझ्नेले नाक खुम्च्याएको देख्दा आफैंलाई पश्चाताप हुन नलागेको कहाँ हो र ? तर जे भएपनि दुनियाँका छोराछोरीहरुलाई अँध्यारो कुनाबाट निकाली शिक्षाको उज्यालो प्रकाशद्वारा प्रदीप्त गराउन पाउँदा मनमा आनन्द लाग्छ ।

एसएलसी पास भए मेरै छोराछोरीले कडा मेहनत गरेर रातभर पढेर पास भएको हो भन्छन् । फेल भए मास्टरले पढाउने भए पो पास हुन्छन्

भनेर धारे हात लगाउँछन् । कस्तो पेसा अपनाइएछ भनेर दुःख पनि लाग्छ । तर, यी त सब भन्ने कुरा न हुन् ! भनी चित्त बुझाउन पर्नेरहेछ ।
फुर्सदको समय साहित्यलाई

इच्छा घुमेर खाने छ । तर सधैं नपुग्ने रहेछ । तै पनि घुमेका ठाउँबारे र आफ्ना अनुभवहरुलाई अक्षरमा कुँद्न मन लाग्छ । शब्दका स्तम्भ तयार पार्न मन लाग्छ । फुर्सदमा पनि त्यसै घरै बस्न मन लाग्दैन । ससानो कुरालाई गहिरो अध्ययन गरी शब्दको जालमा पार्न मन लाग्छ । शिक्षण पेसामा लागेपछि ‘नसोध मलाई’ गीतिनाटक प्रकाशन गरें । जुन नाटकलाई समालोचक एवम् विश्लेषक गोपीरमण उपाध्यायले समीक्षा गर्दा जनस्तरबाट सम्मानित ‘सिम्मा’ नाटकसँग तुलना गर्नुभएको थियो । जुन राष्ट्रिय दैनिक जनसंघर्षमा प्रकाशित भएको थियो ।

त्यसपछि नेपालमा पहिलोपटक प्रयोगको रुपमा चट्नी संग्रह ‘आस्थाका स्वर’हरु प्रकाशन गरें, त्यो नितान्त नौलो आयाम थियो साहित्य क्षेत्रमा । जसको विमोचन तत्कालीन राष्ट्रियसभाका सदस्य रामचन्द्र भट्टराईले गर्नुभएको थियो । विमोचन कार्यक्रममा राष्ट्रिय गजलकार बुँद राना, कवि मुरारी पराजुली, गिरि श्रीस, अर्जुन पौडेललगायतका साहित्यिक व्यक्तिहरुको दोभानमा बाक्लो उपस्थिति थियो ।

बालबालिकाका लागि ‘हात्ती करायो’ नामक बालगीति पुस्तिका हालै प्रकाशन गरेको छु । मास्टर पेसा पैसाको जहिले पनि संकट, नत्र ‘रेक्सा’ कवितासंग्रह र ‘चिठ्ठी साहिँलीलाई’ यात्रासाहित्य प्रकाशन गर्थें हुँला !

फुर्सदमा लेख्न र पढ्न मन लाग्छ । अहिले लेखनको गति कम भइसकेको छ । कविता प्रतियोगितामा भैरहवा, बुटवल, नवलपरासी धेरै ठाउँ पुगियो । पुरस्कार पनि छामियो । लोककवि अलिमियाँ, प्रसिद्ध कार्टुनिष्ट वात्सायन, म्यागासेसे पुस्कार विजेता महावीर पुन, मदन पुरस्कार बिजेता सरुभक्त, गुरुकूलका अनुप बरालसँगको भेट सम्झन लायकका छन् । यी पुराना दिन स्मृतिको मानसपटलमा नाचिरहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *