दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ? – Nepal Press

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागले साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वानका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईका अनुसार नेपाली कामदारलाई इजरायल पठाउनका अहिले अनलाइन पोर्टल निर्माण भइरहेको छ । ‘केही दिनमा नै अनलाइनको काम सकिने छ । र, साउनको पहिलो वा दोस्रो सातामा आवेदनका लागि विज्ञापन गर्नेछौं,’ उनले भने ।

विभागले अहिले औपचारिक रुपमा ५ सय कामदार पठाउने सम्झौता गरिसकेको छ भने अरु ५ सय जनाका लागि अनौपचारिक छलफल भइरहेको जानकारी दिएको छ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया अघि बढाएको हो । अब नेपाल सरकारले कामदारलाई इजरायल पठाउँदा सरकारी संयन्त्रमार्फत नै पठाउने छ ।

यसका लागि नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सम्झौता भएको हो । यसमा मेनपावर कम्पनीको कुनै संलग्नता रहने छैन । यसपटक लगिने कमदार ‘कियर गिभर’को रुपमा रहने निर्देशक भट्टराईको भनाइ छ ।

कामदार छनोट र भर्ना प्रक्रिया नेपालले वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एन्ड इमिग्रेसन अथरीटी (पीआईबीए)ले गर्नेछन् । रोजगार विभागले इजरायल कामदार पठाउनका लागि छुट्टै संयन्त्रसमेत तयार पारिसकेको छ ।

नेपालले कामदार पठाउने प्रक्रिया पूरा गरेपछि श्रम सम्झौता तथा कार्यान्वयन सम्झौताबमोजिम इजरायलले कमदार छनोट गर्नेछ ।

को जान पाउनेछन् रोजगारीका लागि इजरायल ?

सरकारले तोकेको मापदण्ड पूरा गरेका व्याक्ति मात्र रोजगारीका लागि इजरायल जान पाउनेछन् । निर्देशक भट्टराईका अनुसार इजरायल जाने कामदार २५ देखि ४५ वर्षसम्मका हुनुपर्नेछ । र, ४५ केजी तौलभन्दा माथिले मात्र इजराइल जान पाउनेछन् ।

तर पहिला जस्ता इजरायिली भाषा अनिवार्य पढ्नुपर्ने छैन । सामान्य अंग्रेजी जानेको मानिस पनि जान सक्नेछन् । तर, यसका लागि परीक्षा भने अनिवार्य छ । अहिले विभागले कमदारलाई परीक्षा लिनका लागि धमाधम कोर्ष बनाइरहेको जनाएको छ ।

साथै, कमदारले १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको कोर्ष वा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको हुनुपर्छ । त्यससँगै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालीम प्राप्त गरेको व्याक्तिले आवेदन दिन पाउनेछन् ।

तर, इजरायलमा काम गरी फर्केका र बुबा, आमा, पति पत्नी, छोरा वा छोरीले इजरायलमा बसोबास वा कार्य गरेका परिवारका सदस्य भने जान पाउने छैनन् । साथै, लागूपदार्थ वा मादकपदार्थ दुव्र्यसनमा लागेका व्याक्ति प्रमाणित भएमा छनोटमा पर्ने छैनन् ।

इजरायल जानका लागि कामदार आफंैले लागत खर्च व्यहोर्नुपर्नेछ । कामदारको भिषा शुल्क चाहिँ सम्बद्ध रोजगारदाताले व्यहोर्ने छ भने हवाइ भाडा, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, बीमालगायतका खर्च भने कामदारले नै व्यहोर्नुपर्ने निर्देशक भट्टराई बताउँछन् ।


प्रतिक्रिया

2 thoughts on “दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

  1. Israel bata Agriculture training program complete garera Nepal return bhayeko candidate care giving sector ma jaana milxa ki mildaina because I’m one of them

Leave a Reply

Your email address will not be published. Required fields are marked *