सकियो भन्दै लाइनमा बसेकालाई लखेटेर सिभिल अस्पतालमा कसले कब्जा गर्‍यो खोप ? (भिडियोसहित) – Nepal Press

सकियो भन्दै लाइनमा बसेकालाई लखेटेर सिभिल अस्पतालमा कसले कब्जा गर्‍यो खोप ? (भिडियोसहित)

काठमाडौं । निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) भित्र लाइनमा बसेका सर्वसाधारणलाई खोप सकिएको भनि फिर्ता गराएर पहुँचवालालाई अस्पताल हाताभित्रै लुकिछिपी खोप लगाइने गरेको खुलासा भएको छ । शुक्रबार अपरान्ह चार बजेको समयमा अस्पतालले खोप सकिएको जानकारी गराउन प्रहरीलाई आग्रह गरेपछि लाइनमा बसेकाहरु फिर्ता भइरहेका बेला भित्र यस्तो बदमासी भएको हो ।

अस्पतालभित्र पहुँचका आधारमा लुकिछिपी खोप लगाइरहेको दृष्य एक युवा टोलीले भिडियोमा कैद गरेको छ । भिडियो सार्वजनिक भएपछि र हल्लाखल्ली मच्चिएपछि महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपीसहित दुई जना इन्सपेक्टरको टोलीले हस्तक्षेप गरेको थियो । लुकिछिपी खोप लगाएको भनेर बिरोध गर्नेलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले खोप लगाउने कार्यमा संलग्न एक कर्मचारी, एक सुरक्षा गार्ड गरी दुई जना र विरोध गर्ने चार युवालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक अधिकारीका अनुसार अस्पतालका एक लेखा अधिकृतलाई पनि नियन्त्रणमा लिइएको थियो ।

‘निजामती कर्मचारी अस्पतालले यस्तो बदमासी गरेको देखेपछि दुवै पक्षलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने । विरोध गर्ने युवाहरुलाई छोडिसकिएको उनले जानकारी दिए ।

ती प्रहरीका अनुसार चार सय तीन जना खोप लगाउनका लागि लाईनमा थिए । उनी भन्छन्, ‘खोप सकियो भनेर अस्तालले भनेपछि हामीले बिन्ती गरेर लाइनमा बसेकालाई फिर्ता गरायौं । तर एक्कासी अस्पताल भित्रै खोप लगाउने काम भइरहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएर रोकेका छौं ।’

यो समस्या मिलाइदिनुपर्‍यो भनेर काठमाडौं महानगरपालिका र अस्पताल प्रशासनबाट फोनमा दवाव आइरहेको उनले सुनाए । यसलाई आवश्यक छलफल गरेर मात्र टुंग्याउने उनको भनाइ छ ।

प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएपछि अस्पतालका कर्मचारीले उनीहरुलाई छोडिदिनुपर्‍यो भनेर प्रहरीसँग हारगुहार गरेका थिए । त्यति नै बेला महानगरपालिका र अस्पताल निर्देशकले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपीलाई समेत फोन गरेर पक्राउ परेका व्यक्तिलाई छोड्न आग्रह गरेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. बिधान निधी पौडेलले भने खोप लगाउन छुटेका कर्मचारीले लगाएको नेपाल प्रेससँग बताए । सेवाग्राहीलाई खोप सकियो भनेर अस्पतालका कर्मचारीले मात्र लगाउन मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘बाहिर लाइनमा चार सयदेखि पाँच सय थिए । तर अस्पतालसँग ४० देखि ५० जति खोप मात्र भएपछि कसलाई लगाउनु कसलाई नलगाउनु ? यो त निजामती कर्मचारी अस्पताल पनि हो नि । त्यसैले निजामती कर्मचारीलाई प्राथमिकतामा राख्नुपरिहाल्यो नि ।’

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार साँझ नै एक विज्ञप्ति जारी गर्दै खोप सकिएकाले खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो । साउन २ गते शनिबारसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

खोप केन्द्रका कर्मचारीले लाइनमा बसेका सर्वसाधारणलाई सकियो भनेर घरमा लैजाने,आफन्त र पहुँचवालाको घर घरमै लगेर खोप लगाइदिने तथा कतिपयले पैसा लिएर खोप दिने गरेको समेत गुनासो आउन थालेका छन् । सिभिल अस्पतालको यो प्रकरण त सर्वसाधारणले तत्कालै प्रतिवाद गरेर सार्वजनिक भएको छ । तर हजारौं डोज खोप लुकाएर अन्यत्रै लगाउन थालिएको छ । 


प्रतिक्रिया

One thought on “सकियो भन्दै लाइनमा बसेकालाई लखेटेर सिभिल अस्पतालमा कसले कब्जा गर्‍यो खोप ? (भिडियोसहित)

  1. यो मुलुक नेता , तिनका झोले कार्यकरता, उचच ओहदा का वेकती, करमचारी , तथा हाइ प्रोफाइल नागरिक हरू को मात्र हो ? कुनै पहुच नै नभएका आम जनता हरूको होइन यदी तेसो हो भने सहयोगी देशहरूले मित्र समझेर अनुदानमा दिएका खोपमा पनि किन भेदभाव । के यो मुलुकमा माथि उललेखित नागरिक हरूमात्र जिउने आम मानिस मरेको मरै हुने । आफु ले त केही गरन सकेनन यहाको सरकारले विदेशी सहयोग को पनि एकाधिकार । यदी यही हो भने बिना काममा खोपको पर्चार गरी आम नागरिक लाइ किन दुख दिने , बिहान 4 बजे देखी लाइन मा बसाउने अनी खोप जती हाइ पर्फाइल बेकती हरू लाइ दिने । हामी आम नागरिक हरू को समबनधित निकाय समक्ष एउटा सुझाव छ अब खोपको परचार परसार नै नगरनु होला सुटुकक आ आफना नातेदार , कारयकरता, करमचारी हरूलाइ नै लगाउनु होला आम नागरिक रोग ले मरे पनि तपाइ हरू लाइ केही फरक परने छैन तर याद राखनुहोस यदी आम नागरिक को दिल बाट नै सराप आएमा तपाइ हाई पोरोफाइल बेकती हरूको धेरै नै क्षती हुनेछ , तपाइ हरूलाइ ठुलो पाप लागनेछ र तयो पाप बाट तपाइ हरूले कहीलयै उनमुकती पाउनु हुनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *