सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न विपद् प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन – Nepal Press

सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न विपद् प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै उनले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री खाँणले विपदमा काम गर्ने सरकारी संरचनाबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

विपद् कुनै पनि बेला आउनसक्ने हुनाले सोही अनुरुपको तयारी अवस्थाका लागि सचेतनाका कार्यक्रम बढाउनुपर्ने उनको धारणा थियो । मन्त्री खाँणले गाउँ गाउँबाट विपद्को जानकारी तुरुन्तै पाउने संयन्त्रको विकास गरी मानवीय क्षतिलाई बचाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पानी नपर्ने हिमाली भूभागमा पानी पर्ने जस्ता विपद्का कल्पना नगरेका जोखिम देखिन थालेको हुँदा बहुआयामिक ढङ्गले अघि बढ्नुपर्ने मन्त्री खाँणले बताए । उनले विपद्का विभिन्न पक्षका बारेमा अध्ययन हुनु आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले विपद्सँग सम्बन्धित विज्ञसहितको कर्मचारी व्यवस्थापनको ढाँचामा प्राधिकरण जान आवश्यक रहेको बताए । विपद सम्बन्धी अध्ययन, अनुसन्धान र जोखिमको पहिचान गरी काम त्यसतर्फ केन्द्रीत गर्नु जरुरी रहेको सचिव न्यौपानेको भनाई थियो ।

उक्त अवसरमा गृहमन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सह(सचिब हुमकला पाण्डेले मनसुनजन्य विपद्का घटना, खोज, उद्धार र राहत तथा क्षतिको अवस्था र गृहमन्त्रालयबाट भएका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । उनले प्राधिकरणको मौजुदा संगठन संरचनामा प्राविधिक जनशक्तिको अभाव रहेकोतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय जलवायू परिवर्तनका कारण विपद्का घटना बढ्दै गएको र नयाँ नयाँ स्वरुपमा देखा परेको भन्दै यसको जोखिम न्यूनीकरणमै ध्यान दिनुपर्नेमा पोखरेलले जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *