अदालतको फैसलाविरुद्ध एमालेले देशैभर भण्डाफोर अभियान चलाउने – Nepal Press

अदालतको फैसलाविरुद्ध एमालेले देशैभर भण्डाफोर अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने भएको छ ।

बानेश्वरमा बसेको संसदीय दलको बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुन:स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले पत्रकारसँग भने, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’

माधव पक्ष बैठकमा अनुपस्थित भएको सन्दर्भमा भट्टराईले भने, ‘केही समयदेखि केही समूह बैठकमा अनुपस्थित हुँदै आउनुभएको छ । ‘माधव नेपालसहित बसेर बनाएको कार्यदलले सर्वसम्मतिमा तयार पारेको १० बुँदा अक्षरस: कार्यान्वयन गर्ने अध्यक्ष केपी ओलीले बैठकमा बताउनुभयो । आगामी बैठकमा उहाँहरू आउनु नै हुनेछ ।’

संसदीय दलको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षति मृत्यु दु:ख व्यक्त गर्दै घाइतेको नि:शुल्क उपचार र उद्धार तथा राहतको लागि यथोचित व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ । त्यस्तै सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर