तस्बिरमा एमाले स्थायी कमिटी बैठक – Nepal Press
तस्बिरमा एमाले स्थायी कमिटी बैठक
नेपाल प्रेस २०७८ साउन १ गते १४:०४
२०७८ साउन १ गते १४:०४

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि एमालेको यो पहिलो बैठक हो । यसअघि अधिकांस बैठक बालुवाटारमा बस्दै आएकोमा आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसेको हो ।

एमालेले परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसहित शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

बैठकले कार्यदलाई धन्यवाद दिँदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले बैठक निर्धारित कार्यसूची अनुसार नै अघि बढ्ने बताएका थिए ।