छिट्टै भिजा कार्ड चल्ने ठाउँमा क्रिप्टोबाट पैसा तिर्न मिल्ने ! – Nepal Press

छिट्टै भिजा कार्ड चल्ने ठाउँमा क्रिप्टोबाट पैसा तिर्न मिल्ने !

काठमाडौं । भिजाले क्रिप्टोकरेन्सी कम्पनीहरूसँग सहकार्य गरेर प्रयोगकर्तालाई आफ्नो कार्ड चल्ने सबै ठाउँमा क्रिप्टोबाट बिल तिर्ने सुविधा दिने बताएको छ । विश्वभर ७ करोडभन्दा धेरै स्थानमा अहिले भिजामार्फत् आर्थिक कारोबार भइरेको छ ।

भिजाले बताएअनुसार त्यसका लागि प्रयोगकर्ताले केही गर्नुपर्ने छैन, सामान्य रूपमा भिजा कार्ड स्वाइप गरेर बैङ्कको एटीएम जस्तै कारोबार गर्नेछन् र स्वत: क्रिप्टोबाट फियाट करेन्सी (जस्तै, अमेरिकी डलर, युरो, नेपाली रूपैयाँ) मा रूपान्तरण भएर कारोबार हुनेछ ।

‘मर्च्यान्ट्सले केही गर्नुपर्दैन, उनीहरूले केही कन्भर्ट पनि गर्नुपर्ने छैन,’ भिजाका क्रिप्टोकरेन्सी प्रमुख काइ शेफिल्डले भने, ‘अन्य भिजा कार्डबाट कारोबार गरे जस्तै सहजै गर्न सकिन्छ ।’

पछिल्लो समय क्रिप्टोकरेन्सीसँग लिङ्क भएका भिजा कार्डहरूको प्रयोग र डिमान्ड बढ्दो छ । २०२१ को पहिलो हाफमा मात्रै १ बिलियन डलरभन्दा धेरै क्रिप्टो वालेटमा मानिसले पैसा राखेको भिजालाई उद्धृत गर्दै ‘इनसाइडर’ले लेखेको छ ।

भिजाको पछिल्लो घोषणासँगै क्वाइनबेस, बाइनान्स, रबिनहुड लगातयका क्रिप्टोवालेट प्रयोगकर्ताले आफ्नो क्रिप्टोकरेन्सीलाई फियाट करेन्सीमा कन्भर्ट नगरी कारोबार गर्न सक्नेछन् ।

पछिल्लो समय विभिन्न स्थानमा क्रिप्टोकरेन्सीको प्रयोग र यसको माध्यमबाट हुने आर्थिक कारोबार बढ्दै गएको छ । युरोप तथा अमेरिकासँगै भारतमा पनि लगानी र कारोबारलाई अनुमति दिइएको क्रिप्टोकरेन्सी नेपालमा भने अवैध कारोबार हो ।

एल-साल्भाडोर भने क्रिप्टोलाई अन्य मुद्रा जस्तै मान्यता दिएर कानुनी रूपमा यसको प्रयोग र प्रवर्द्धन गरिरहेको छ । एल-साल्भाडोर विश्वकै क्रिप्टोकरेन्सी लिगलाइज गर्ने पहिलो मुलुक हो । अहिले अर्को ल्याटिन अमेरिकी मुलुक पाराग्वेमा पनि संसदमा यसलाई लिगलाइज गर्ने बहस सुरु गर्ने तयारी भइरहेको छ ।

(तस्वीर: अमेरिकाको लस एन्जलसमा राखिएको बिट्क्वाइन एटीएम मेसिन ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर