एक वर्षमा मात्रै मुख्यसचिवसहित २८ सय कर्मचारी निजामती सेवाबाट बाहिरिए – Nepal Press

एक वर्षमा मात्रै मुख्यसचिवसहित २८ सय कर्मचारी निजामती सेवाबाट बाहिरिए

अनिवार्य अवकाश पाउनेमा २१ जना सचिव र ५९ जना सहसचिव पनि

काठमाडौं । गत आर्थिक वर्ष २०७७-०७८ मा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीसहित २८ सय कर्मचारी निजामती सेवाबाट बाहिरिएका छन् । निजामती कितावखानाले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७-७८ मा एक मुख्यसचिव, २१ जना सचिव र ६० जना सहसचिवसहित दुई हजार सात सय ९८ जनाले निजामती सेवाबाट बाहिरिएका हुन् ।

अवकाश हुने बाँकी भने उपसचिव र त्यो भन्दा तल्लो तहका कर्मचारी रहेको राष्ट्रिय किताबखानाले जनाएको छ । यस वर्ष सचिवमा केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटाले असोज २२ मा अनिवार्य अवकाश पाए । यस्तै राजेन्द्रप्रसाद भारी कात्तिक १, चिरञ्जीवी खनाल कात्तिक २, मणिराम ओझा कात्तिक २०, प्रकाश माथेमा मंसिर १, रामकृष्ण सापकोटाले मंसिर १५ मा अवकाश पाए ।

आनन्दराज ढकाल पुष २१, चन्द्रकुमार घिमिरे माघ ८, विष्णुप्रसाद नेपाल चैत २, डा।तीर्थराज ढकाल चैत २७, डा।मानबहादुर विके बैशाख ६, डा। विश्वनाथ ओली बैशाख ७, मधुसूदन अधिकारी बैशाख २४, डा। सञ्जय शर्मा जेठ ६, माधव बेलवासे जेठ १४, चन्द्रमान श्रेष्ठ जेठ १५, गोपीनाथ मैनाली असार १, रेश्मीराज पाण्डे असार १७ मा अनिवार्य अवकाश पाएका छन् ।

यस वर्ष १९ जना सचिवले अनिवार्य अवकाश पाउने भए पनि उनिहरुमध्ये एक जना सचिव मुख्यसचिवमा बढुवा भएकाले १८ जना सचिव अवकाशमा गएका हुन् ।

५९ जना सहसचिवले पनि अवकाश पाए

गत आर्थिक वर्ष २०७७–७८ मा ठूलो संख्यामा सहसचिवको पनि अवकाश पाएका छन् । आर्थिक वर्षको सुरुमा सहसचिव अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्लेले अनिवार्य अवकाश पाए । यस्तै सहसचिव वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, शंकरप्रसाद सुवेदी, कैलाशराज पोखरेले, रामकृष्ण गुरागाईं, बलराम मिश्र, सरोजकुमार प्रधान, भगवानप्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, श्यामराज अधिकारी, सुरेन्द्रप्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, भेषनाथ शर्मा, वंशी शर्मा, सनतकुमार दवाडी, विष्णुप्रसाद अधिकारीले अवकाश पाएका छन् ।

यस्तै, सहसचिव नरनाथ गिरी, कौशलकिशोर झा, तेजबहादुर सुवेदी, प्रेमराज जोशी, कालीप्रसाद पोखरेल, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरू, टीकाराम ज्ञवाली, यज्ञबहादुर हमाल, दिगम्बर ठाकुर, किशोर जोशी, रूपनारायण भट्टराई, मुरारी महत, उपेन्द्रकुमार खनाल, विद्यानाथ भट्टराई, महेश्वरनरसिंह केसी, डिल्लीराम सेढाईं, धरुबमणि ज्ञवाली, मदन थापा, माधवप्रसाद पौडेल, यज्ञराज बोहरा, यादव सुवेदी, लक्ष्मणप्रसाद पौडेल, बलराम थापा, दीपक केसी, नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, जीवनप्रकाश श्रेष्ठ, हरि बखती, दीर्घनारायण पौडेल, राजेश पौडेल, कान्चनराज पाण्डेले पनि अवकाश पाएका छन् ।

अनिवार्य अवकाश पाउनु अघि नै तीन सचिवको राजीनामा

गत आर्थिक वर्षमा अनिवार्य अवकाश पाउने तीन जना सचिवले अनिवार्य अवकाश पाउने मिति आउनु अघि नै राजीनामा दिएर राजनीतिक नियुक्ति लिएका छन् । जसमा मुख्यसचिव लोकदर्शन रेग्मीले अनिवार्य अवकास पाउनु अघि नै राजीनामा दिएर सरकारी नियुक्ति लिएका छन् । मुख्य सचिव रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउने भए पनि त्यो भन्दा अघि नै असोज १५ गते नै केपी शर्मा ओली नेतृत्वको सरकारले रेग्मीलाई मुख्यसचिवबाट राजीनामा दिन लगाएर बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

मुख्यसचिव राजीनामा दिएर राजनीतिक नियुक्ती लिएपछि  बैरागी बने मुख्यसचिव

मुख्यसचिव लोकदर्शन रेग्मीले अनिवार्य अवकाश हुने समय अघि नै राजीनामा दिएर सरकारी नियुक्ति लिएपछि एक सचिवले पाउने मुख्य सचिवको जिम्मेवारी अर्को व्यक्तिले पाएका छन् । मुख्यसचिव रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउने भए पनि त्यो भन्दा अघि नै असोज १५ मा सरकारले राजनीतिक नियुक्ती दिएपछि असोज २२ गते सचिवबाट अनिवार्य अवकाश पाउन लागेका शंकरदास बैरागीले अवकाश पाउनु एक साता अघि मुख्यसचिवको जिम्मेवारी पाएका थिए । बैरागी मुख्य सचिवमा नियुक्त भएपछि उनि अनिवार्य अवकाशमा जानबाट रोकिएका छन् ।

गत आर्थिक वर्षको अन्तिममा आएर सरकारले सचिव खगराज बराललाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० सेवा आयोगको अध्यक्ष र सचिव डा. हरि पौडेललाई संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गरेपछि यस वर्ष थप दुई जना सचिवले पनि अनिवार्य अवकाश हुने समय अगाबै राजीनामा दिएका छन् । यससँगै नेपाल सरकारको बिशिष्ट श्रेणी अर्थात सचिव पदबाट यस वर्ष मात्र २० जना बाहिरिएका कितावखानाले जनाएको छ ।

आठ सय ९४ जनाको राजिनामा, एक सय ४४ जनाको मृत्यु 

गत आर्थिक वर्ष निजामती सेवाबाट बाहिरिनेमा अनिवार्य अवकाशबाट एक हजार सात सय ५७ जना रहेका छन् । जसमा एक हजार छ सय महिला रहेका छन् भने एक सय ५७ जना महिला रहेका छन् । यस्तै दुई जना पुरुषले अवकाश पाएका छन् । राष्ट्रिय कितावखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार सात सय ३७ पुरुष र एक सय ५१ महिला गरेर आठ सय ९४ जनाले राजिनामा दिएका छन् । यस्तै एक सय २७ जना पुरुष र १४ जना महिला गरेर एक सय ४४ जना निजामती कर्मचारीको मृत्यु पनि भएको महानिर्देशक सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

कितावखानका अनुसार यसै अवधिमा दुई जना पुरुष कर्मचारीले स्वेच्छिक अवकास लिएका छन् भने दुई जना पुरुषले मात्र अवकाश लिएका छन् । यस्तै पाँच जना पुरुष र एक जना महिला गरेर छ जनाको पदावधि सकिएको छ भने दुई जना पुरुष भविष्यमा अयोग्य नठहरिने गरी सेवबाट हटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर