माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ? – Nepal Press

माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ?

विप्लवले किन बढाइरहेका छन् ‘राजनीतिक दौडधुप’ ?

काठमाडौं । मोहन वैद्य, रामबहादुर थापा ‘बादल’ हरूलाई साथमा लिएर अलग भएको धेरै वर्षसम्म नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेनन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर पछिल्लो भूमिगत राजनीतिक तोडेपछि पनि उनले प्रचण्डलाई भेटेनन् ।

तर, बुधबार प्रचण्ड निवास खुमलटारमै गएर विप्लवले ‘सरप्राइज भेट’ गरे । पछिल्लो कालमा आफूले कटु आलोचना गर्ने प्रचण्डसँग घनिष्ट दोस्ती झैं उनले मुस्कुराएको फोटो खिचे ।

यो सिलसिला विहीबार पनि चल्यो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ उभिएर खिचेको फोटो सार्वजनिक भयो । तस्बिरमा हिजो प्रचण्डलाई भेट्दा साथमा रहेका माधव नेपालसहितको तस्बिरमा सबै (प्रचण्ड, माधव नेपाल, विप्लव र धर्मेन्द्र वास्तोला) खुब मुस्कुराएको देखिन्छ ।

अचानक किन सक्रिय ?

ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि हिरासतमा रहेका आफ्ना पार्टीका नेताहरूलाई उनले भेटेका थिए । त्यस्तै आफ्ना पूर्वसहकर्मीहरू मोहन वैद्य, कृष्णबहादुर महरा, आहुतीलगायतसँग मात्रै विप्लवले राजनीतिक भेटघाट गरेका थिए ।

तर, ओली सरकारबाट बाहिरिएलगत्तै उनले राजनीतिक भेटघाटलाई बढाए । यसबाट धेरैलाई आश्चर्य लागेको छ । यो भेटघाट तीन बुँदे राजनीतिक सहमति कार्यान्वयन लागि भएको विप्लव नेतृत्वको नेताहरू बताउँछन् ।

हिजो भएको प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल गरेको र तीन बुँदे सहमति कार्यान्वयनबारे चासो राखेको बताइएको थियो । प्रचण्डसँगको भेटपछि बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तीव्रता दिने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

उक्त बैठकको निर्णय अनुसारै विप्लव राजनीतिक भेटघाटमा सक्रिय रहेको भेटघाटहरूमासँगै रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोला बताउँछन् । नेता नेपालसँगको भेटमा पनि यही विषयमा कुराकानी भएको उनले नेपाल प्रेसलाई जानकारी दिए ।

‘सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्‍यो भन्ने कुरा हामीले राख्यौं,’ उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति के छ, कस्तो छ ? यसबारेको बुझाइ के छ भन्नेबारेमा पनि कुराकानी भयो ।’

विप्लवसँगको छलफलमा नेता नेपालले चाहिँ सहमति कार्यान्वयन हुनुपर्छ र कार्यान्वयन गर्ने कुरामा आफूहरू सहमत भएको बताएका थिए ।

प्रचण्ड कसरी मिसिए ?

राजनीतिक घटनाक्रम तरल रहेको अवस्थामा प्रचण्ड, नेता नेपाल र विप्लव एकसाथ भेटेको तस्बिर सार्वजनिक भएपछि धेरैले अब उनीहरूबीच एकता हुन लागेको रूपमा बुझेका छन् ।

कतिपय अब पूर्वमाओवादी घटकहरूबीच एकता हुने भन्दै आशावादी पनि भएका छन् । नेता नेपालले पनि पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने सुझाव दिएको खबर थाहा पाएर धेरै उत्साहित भएका छन् ।

तर, अवस्था सोचिए जस्तै हो त ? सबैभन्दा पहिले तीन नेता एकसाथ देखिएको तस्बिर कसरी खिचियो भन्ने वास्तविकता बुझौं ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल र विप्लवबीच करिब डेढ घण्टा छलफल चलेको थियो । नेपाल र विप्लवबीच वार्ता चलिरहेकै बेला प्रचण्ड नेपाल निवास छिरेका थिए। अनि माधव नेपालकै आग्रहमा तीनजनाबीच फोटो सेसन चलेको थियो।

यसलाई पुष्टी गर्दै नेता वास्तोला भन्छन्, ‘नेपालजीलाई भेट्न सँगै गएको होइन, संयोग परेको । हामी गएर कुरा गर्दै थियौं, प्रचण्डजी पछि आउनुभयो । उहाँहरूको पनि बैठक रहेछ । उहाँ पुगेपछि माधवजीले बसौं न त, कमसेकम फोटो चाहिँ सँगै खिचाउँ भन्नुभयो । अनि तस्बिर खिचाइयो ।’

अब पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने नेता नेपालवको सुझावलाई पछ्याउँदै अब तपाईंहरू मिल्नुहुन्छ त भन्ने प्रश्नमा बास्तोला भन्छन्, ‘पूर्वमाओवादीहरूबीच एकीकरणबारे खास कुरा भएको छैन् र हामीले अहिले नै त्यसरी सोचेका पनि छैनौं,’ उनी भन्छन्, ‘अहिले चाहिँ तीन बुँदे सहमति कार्यान्वयन गरौं र अहिलेको राजनीतिक विषयमा छलफल गरौं भन्ने हिसाबले भेटघाट बढाइरहेका छौं ।’

माओवादी घटकहरूबीचको एकताबारे मात्रै हाललाई नसोचिएको भए पनि कम्युनिष्टहरूबीच एककताका लागि भने आफूहरू खुला रहेको बास्तोला बताउँछन् । तथापि आफूहरूको अहिलेको मुख्य जोड तीन बुँदे सहमति कार्यान्वन गराउनु नै भएको उनको भनाइ छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाटको प्रयास भइरहेको बास्तोलाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर