पेट्रोलको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन, खानेतेलको १०० रुपैयाँ बढ्दा मौन – Nepal Press

पेट्रोलको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन, खानेतेलको १०० रुपैयाँ बढ्दा मौन

काठमाडौं । पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यवृद्धि हुँदा पनि निकै आल्दोलन हुन्छ । प्रायः आन्दोलन विद्यार्थी संगठनहरुले गर्ने गरेका छन् । तर, खानेतेलको मूल्य एक वर्षमै सय रुपैयाँ बढ्दा पनि कसैले आवाज उठाउँदैनन् । विद्यार्थी संगठन पनि थाहा नपाएजस्तै गर्छन् ।

यो वर्ष पटक–पटक गरेर पेट्रोलिय पदार्थको मूल्य २५ रुपैयाँ बढाइएको छ भने खानेतेलको सय रुपैयाँ  बढेकाे छ । अघिल्लो वर्ष १८० रुपैयाँ भएको खानेतेलको मूल्य अहिले २८० पुगेको छ । अघिल्लो वर्ष प्रतिलिटर १०४ रुपैयाँ भएको पेट्रोलको अहिले १२८ रुपैयाँ पर्छ ।

तुलनात्मक रुपमा आर्थिक अवस्था बलियो हुनेले सौखका लागि प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारणको भान्छामा हरेक दिन प्रयोग अनिवार्य भएको खानेतेलको मूल्य असाधारण तरिकाले बढ्दा किन आवाज उठ्दैन ? माधव नेपाल पक्षीय नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने– यो प्रश्न जायज छ, हामी यस विषयमा पनि आवाज उठाउँछौं, सम्बन्धित मन्त्रालयमा मूल्य घटाउन माग गर्छौं ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विद्यार्थी नेताहरुले पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको देख्ने तर खानेतेलको बण्ेको नदेख्नु दुखद भएको बताए । उनले भने, ‘विद्यार्थी नेताहरुले पनि आफैलाई फाइदा हुने काम मात्रै गर्ने हुन् । राजनीतिक स्वार्थका लागि आन्दोलमा उत्रेका छन् । अब नेपाल विद्यार्थी संघले आफ्नै सरकार भएकाले आन्दोलन गर्दैन ।

पछिल्लो समय सबैभन्दा धेरै खानेतेलको मूल्य बढेकोविरुद्ध आफूले आवाज उठाइरहेको महर्जनको भनाइ छ । तर अधिकारकर्मीले जति बोले पनि उत्पादक र सरकारले नसुनेको उनको गुनासो छ ।

नेपाल खुद्रा व्यपार संघले पछिल्लो एक वर्षमा तेरीको तेल, भटमासको तेल र सनफ्लावर तेलमा ८० देखि एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको जनाएको छ ।

संघले खानेतेलको मूल्य अत्यधिक बढेको भन्दै वाणिज्य विभागमासमेत उजुरी दिएको थियो । उजुरी परेपछि विभागले तेल उत्पादकहरुलाई मूल्यवृद्धि हुनुको कारण पेश गर्न भनेको थियो ।

करिब २० वटा उद्योगमध्ये सबैले कारण पेश गरेका थिए । कारण पेश गरेकामध्ये विभागले ३ वटा तेल उत्पादन गर्ने उद्योगलाई विनाकारण तेलको मूल्यवृद्धि गरेको भन्दै कारवाही पनि गरेको थियो ।

नेपालमा पछिल्लो सयम निषेधाज्ञाका कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढाइएको छ । मूल्यवृद्धिमा सरकारको समेत साथ रहेको उपभोक्ताकर्मीको आरोप छ ।

कतिले प्रयोग गर्छन् पेट्रोल ?

नाडा अटोमोवाइल्स एशोसियसनका अनुसार ३ करोड नेपालीमध्ये १० प्रतिशत अर्थात् ३० लाखले दुईपाङ्ग्रे सवारी साधन प्रयोग गर्छन् । जुन ठिकै आर्थिकस्थिति हुने समूह हो ।

त्यस्तै ०.९ प्रतिशत अर्थात् २ लाख ७० हजारले चारपांग्रे सवारी साधन प्रयोग गरिरहेका छन् भने ८९.१ प्रतिशत सर्वसाधारण नेपालीले सार्वजनिक सवारी साधन प्रयोग गर्छन् । यसरी आर्थिकस्थिति राम्रो भएकाले प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारण सबैले भान्छामा अनिवार्य प्रयोग गनुपर्ने तेलको मूल्य बढ्दा विद्यार्थी संगठन चुपचाप बस्नु ठिक नभएको बताउँछन्, उपभोक्तकर्मी महर्जन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर