युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन् – Nepal Press

युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

काठमाडौं । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेसँगै मिनी विश्वकप- युरो २०२० को समापन भयो । २०१८ यता अपराजित यात्रा तय गरेको इटालीले ३४ खेलमा अपराजित रहँदै दोस्रो पटक युरोपियन च्याम्पियनसिप जित्यो ।

प्रतियोगिताको समापनसँगै युइएफएले टिम अफ दी टुर्नामेन्ट सार्वजनिक गरेको छ । इटालीका खेलाडीको प्रभत्व रहेको ११ सदस्यीय टिम यस्तो छ ।

गोलकिपर- यानलुइजी डोनरुम्मा (इटाली)

आगामी सिजनका लागि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित इटालियन गोलकिपर डोनरुम्मा प्लेयर अफ दी टुर्नामेन्टसमेत घोषित भए ।

फाइनलमा दुई पेनाल्टी रोकेका डोनरुम्माका लागि यो प्रतियोगिता आफ्नो खेल करियरकै सम्झिनलायक मध्ये एक रह्यो ।

राइट ब्याक- योहाकिम मेहेले (डेनमार्क)

एट्लान्टाले ६ महिनाअघि १० मिलियन खर्चेर क्लबमा अनुबन्धित गरेका डेनिस भर्सटाइल राइट ब्याक मेहेले युरो २०२० चर्चित खेलाडी रहे । डेनिस टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका २४ वर्षीय मेहेलेले दुई गोल गरेर एक असिस्ट पनि दिएका थिए ।

अचम्मकको कुरा त, राइट फुटेड भएर पनि लेफ्ट ब्याकबाट उनले अझ रिमार्केबल प्रदर्शन गरे ।

उनले क्वार्टरफाइनलमा चेक रिपब्लिकविरुद्धको खेलमा कास्पर डोलबर्गलाई दिएको असिस्ट प्रतियोगिताकै हेर्नलायक क्रस थियो ।

सेन्टर ब्याक- लियोनार्दो बोनुची (इटाली)

इटालियन डिफेन्डर बोनुचीको सम्बन्धमा सबैभन्दा रिमार्केबल प्रदर्शन फाइनलमा इटालीविरुद्ध रह्यो । जुन खेलमा उनले म्यान अफ दी म्याच अवार्डसमेत जितेका थिए ।

इटालीको डिफेन्सलाइनमा रक सोलिड बनेका बोनुचीले गोलस्कोरिङमा पनि उपस्थिति जनाइ रहे । फाइनलमा मार्को भेराटीको प्रहार गोलपोस्टमा लागेर फर्किएपछि पुन: प्रहार गर्दै इटालीका लागि बराबरी गोलसमेत बोनुची आफैँले फर्काएका थिए ।

लामो समयदेखि डिफेन्डरभन्दा पनि मिडफिल्डर हुन् भन्ने बहसविपरीत युरो २०२० मा कम्प्लिट सेन्टर ब्याकको प्रमाण प्रस्तुत गरे ।

सेन्टर ब्याक- जर्जियो केलिनी (इटाली)

बोनुचीसँग सेन्टर ब्याकमा सोलिड बनेका केलिनी टिम अफ दी टुर्नामेन्टमा नपर्ने कुरै भएन । सम्भवत: इटालीबाट अन्तिम प्रतियोगिता खेलिरहेका ३६ वर्षीय केलिनीले अन्तर्राष्ट्रिय फुटबल करियरको क्षण बिताए । फाइनलमा इङ्लिस कप्तान ह्यारी केनले निरन्तर अट्याकिङ हाफमा प्रेसर गरे पनि केलिनीले उनलाई धिम्किन दिएनन् ।

अज्जुरीका प्रेरणादायी कप्तान केलिनी सर्वकालिन फुटबलरमध्ये एक डिफेन्डरको उपमा अब सार्थक भएको छ ।

लेफ्ट ब्याक- लियोनार्दो स्पिनाजोला (इटाली)

इटालीका लागि सबैभन्दा महत्त्वपूर्णमध्ये एक सदस्य स्पिनाजोला रहे । तर, प्रतियोगिताकै दौरान क्वार्टरफाइनलमा घाइते भएका स्पिनाजोलाले सेमिफाइनल र फाइनल गुमाए ।

प्रतियोगिताको पहिलो खेलमा टर्कीविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका २८ स्पिनाजोलाले अन्तिम-१६ मा अस्ट्रियाविरुद्ध पनि सोही प्रदर्शन दोहोर्‍याएका थिए । क्वार्टरफाइनलमा स्ट्रेचरमा मैदानबाट बाहिरिएका स्पिनाजोला फाइनलका लागि लन्डन उडेका थिए । र, फाइनलमा उनले जे कुराका लागि त्यो चोटको पीडा बेहोरेका थिए, त्यो मेडल र ट्रफी उनले हासिल गरे ।

सेन्टर मिडफिल्डर- इमिल होइबर्ग (डेनमार्क)

डेनमार्कको सेन्सेसनल सेमिफाइनल यात्राको आधारस्तम्ध रहे, होइबर्ग । टोटेनह्यामका मिडफिल्डरले आफ्नो देशलाई प्रतियोगितामा अगाडि बढाउन हरसम्भव कोसिस गरे । फिनल्यान्डविरुद्धको खेलमा क्रिस्टियन एरिकसनलाई कार्डिक एरेस्ट भएपछि विथोलिएको डेनिस मिडफिल्ड होइबर्गले सम्हालेका थिए ।

होइबर्गले प्रतियोगितामा तीन असिस्ट र ११ मौका सिर्जना गरेका थिए  । १० ड्रिबल पासल गरेका होइबर्गले ५१ पटक बल जितेका थिए । त्यो प्रतियोगितामा अरू खेलाडीभन्दा धेरै हो ।

सेन्टर मिडफिल्डर- जर्जिन्हो (इटाली)

चेल्सीबाट युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेका जर्जिन्होले ६ सातापछि फेरि युरोपियन च्याम्पियनसिपको उपाधि उचाले । पछिल्लो समय आफ्नो क्षमतालाई लिएर आफ्नै क्लबका समर्थकबाट प्रश्न उठिरहेका बेला जर्जिन्होले सबैको मुखमा ताल्चा लगाउने प्रदर्शन गरे ।

नेपोलीका पूर्व मिडफिल्डर जर्जिन्होले इटालियन टोलीको मिडफिल्डका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहे । प्रेसिङ र पासिङमा सोलिड प्रदर्शन गरेका जर्जिन्होले प्रतियोगितामा दोस्रो सर्वाधिक सफल पास खेले ।

उनले प्रतियोगिताभर ४८५ सफल पास खेलेर ४८ पटक बल पोसेसन जिते । उनले युरोपियन च्याम्पियनसिपको इतिहासमै सर्वाधिक २५ इन्टरसेप्सन गरे । हालसम्म १४ भन्दा धेरै कसैले गर्न सकेको थिएन  ।

सेन्टर मिडफिल्डर- पेड्री (स्पेन)

युरो २०२० को प्रदर्शनसँगै नयाँ एन्द्रेस इनिएस्टा कहलिन थालेका पेड्रीको त्यो उपमाले थप सार्थकता पाएको छ । स्पेनले अन्तिम ४ सम्मको यात्रा तय गरेर बाहिरिँदा तत्कालका लागि केही हासिल नगरे पनि लामो समयका लागि एक महत्त्वपूर्ण खेलाडी पाएको छ, ती हुन् पेड्री ।

प्रतियोगिता सुरु हुनुअघि बार्सिलोनाका वन्डरकिड पेड्रीले सुरुआती-११ मा मौका पाउनेमै आशंका थिए । तर, प्रतियोगिताको समाप्तिसम्म ११ मौका सृजना गरेका पेड्रीले विपक्षी टोलीको हाफमा सर्वाधिक ३१६ पास सफलतापूर्वक खेलेका थिए ।

१८ वर्षीय टिनेजर पेड्रीको इटालीविरुद्धको प्रदर्शनसँगै प्रशिक्षक लुइस इनरिकेले मुक्त कन्ठले प्रशंसा गरेका थिए ।

राइट विङ्गर- फेडेरिको किएसा (इटाली)

रोबर्टो मान्चिनीको इटालीले २००६ पछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दाका नायक हुन्, किएसा । प्रतियोगिताको सुरुआतअघि डोमेनिको बेरार्डीले राइट फ्लान्क सम्हाल्ने अनुमान गरिएको थियो । तर, प्रतियोगिताको किक-अफसँगै युभेन्टसका युवा विङ्गरले आफूलाई स्थापित गरे ।

अज्जुरीका लागि सुरुआती दुई खेल सब्स्टिच्युट खेलाडीको रूपमा सुरुआत गरेका किएसाले वेल्विरुद्धको खेलमा सुरुआती-११ बाट म्यान अफ दी म्याच प्रदर्शन गरे ।

अस्ट्रियाविरुद्धको खेलमा सुरुआती-११ मा नपरेका किएसाले पुन: एकपटक बेन्चबाट आएर डेडलक तोडेका थिए ।

क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका किएसाले सेमिफाइनलको दोस्रो हाफमा स्पेनविरुद्ध शानदार गोल गरेका थिए ।

फाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा चोटका कारण बाध्य भएर परिवर्तन हुनुअघिसम्म रिमार्केबल प्रदर्शन गरेका किएसाले युरो २०२० मा आफूलाई स्तरीय खेलाडीको रूपमा स्थापित गरे ।

सेन्टर फरवार्ड – प्याट्रिक शिक (चेक रिपब्लिक)

मार्को भान बास्टेनदेखि ज्लाटान इब्राहिमोभिचसँग सम्म शिकको तुलना भइरहेको छ । र, विश्व फुटबलका ती महान् स्ट्राइकरसँगको तुलनाको कारण हो, शिकले युरो २०२० मा गरेको प्रदर्शन ।

बायर लेभरकुसेनका फरवार्ड शिकको नाम युरो २०२० अगाडि धेरैले सुनेका थिएनन् । तर, एक महिनाको प्रतियोगिता र युरो २०२० प्रदर्शनले सबै फुटबलप्रेमीले सम्झिने नाम बन्यो, प्याट्रिक शिक ।

स्कटल्यान्डविरुद्ध प्रतियोगिताको उत्कृष्टमध्ये एक गोल गरेका शिकले मैदानको बीच भागबाट सोझै बललाई जाली चुमाएका थिए ।

त्यो गोलमा मात्रै नरोकिएका शिकले क्रोएसिया र नेदरल्यान्ड्सविरुद्ध पनि गोल गरेका थिए । क्वार्टरफाइनलमा २५ वर्षीय शिकले गरेको गोलले डेनमार्कलाई सेमिफाइनलसम्म पुग्नबाट नरोके पनि उनलाई सर्वाधिक गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डसँग ५ गोलको बराबरीमा गर्न मद्दत गर्‍यो ।

पोर्चुगिज सुपर स्टारले एक असिस्ट धेरै भएको आधारमा गोल्डेन बुट जित्दा शिक दुर्भाग्यशाली सावित भए । तर, युरो २०२० मा उनको एकनासको प्रदर्शनले उनलाई समकालीन फुटबलरमध्ये उत्कृष्ट एकमा स्थापित गरेको छ ।

लेफ्ट विङ्गर- राहिम स्टर्लिङ (इङ्ल्यान्ड)

फाइनलअघि सम्म प्लेयर अफ दी टुर्नामेन्टका प्रत्यासी स्टर्लिङ बिना इङ्ल्यान्डको यात्रा अपुरै देखिन्थ्यो । म्यानचेस्टर सिटीका मिडफिल्डर स्टर्लिङले प्रतियोगितामा शानदार सुरुआत प्रदर्शन मात्रै गरेनन्, क्रोएसिया र चेक रिपब्लिकविरुद्ध निर्णायक गोलसमेत गरेका थिए ।

जर्मनीविरुद्धको जितमा पनि उत्कृष्ट प्रदर्शन गरेका स्टर्लिङ सेमिफाइनलमा डेनमार्कविरुद्ध इङ्ल्यान्डले गरेका दुवै गोलमा प्रत्यक्ष रूपमा सहभागी थिए ।

प्रतियोगिता सुरु हुनुअघि आलोचित भइरहेका २६ वर्षीय विङ्गरले सबै आलोचकलाई चुप लगाउने प्रदर्शन गरे ।


प्रतिक्रिया

One thought on “युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

Leave a Reply to Ronish Dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर