पर्यटन व्यवसायीले मागे कोरोनाविरुद्धको खोप, क्रमशः व्यवसाय पनि खुला गर्नुपर्ने – Nepal Press

पर्यटन व्यवसायीले मागे कोरोनाविरुद्धको खोप, क्रमशः व्यवसाय पनि खुला गर्नुपर्ने

रुपन्देही । कोरोना संक्रमण रोक्न गरिएको लामो समयको बन्दाबन्दीले थला परेको पर्यटन व्यवसायलाई विस्तारै उठाउन तत्काल खोपको व्यवस्थापन गर्न पर्यटन व्यवसायीले सरकारको ध्यानआकर्षण गराएका छन् ।

पर्यटन व्यवसायमा संलग्न सबैलाई प्राथमिकतामा राखी खोप लगाएर पर्यटन बजारलाई गतिशील बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

भाइरसविरुद्ध लगाइने खोपमा पर्यटन व्यवसायीलाई प्राथमिकतामा राख्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले माग गरेका हुन् ।

संक्रमण कम भएपछि अन्य क्षेत्र बिस्तारै खुल्ला भैरहँदा पर्यटकीयस्थल, होटल, रेष्टुरेन्ट साथै पर्यटन सम्बद्ध अन्य संघसंस्थाहरु अझै बन्द रहेकाले तत्काल खोप लगाई पर्यटनका सबै क्षेत्र खुल्ला गर्नुपर्ने सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताएका छन् ।

उनले चीनबाट आएको भेरोसिल (डबल डोज खोप)तथा अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोेन्सन (सिंगल डोज खोपमध्येबाट पर्यटन व्यवसायमा संलग्न होटल रेष्टुरेन्टका कर्मचारी, ट्राभल एजेन्सीका कर्मचारी वा टुर अपरेटर्शलाई प्राथमिकताका साथ खोप लगाइदिन माग गरेका छन् ।

संक्रमणबाट जोखिन खोपबिना पर्यटन व्यवसाय अघि बढाउन कठिन रहेको भन्दै बजिमयले थला परेको पर्यटन बजार उठाउन पहिला पर्यटन व्यवसायीलाई जसरी पनि खोप व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

पिसिआर रिपोर्ट मात्र नभइ दुईपटक नै खोप लगाएका भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न दिने वातावरण बनाउन बजिमयले आग्रह गरेका छन् ।

होटल एशोसियसन नेपाल(हान)का केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठ(सिपी)ले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटनका सबै क्षेत्र खुल्ला गर्नुपर्ने र त्यसअघि पर्यटन क्षेत्रमा कार्यरत सवैलाई अनिबार्य खोपको व्यवस्था हुनुपर्ने श्रेष्ठले बताए ।

सरकारले अहिले उमेरगत समूहमा लगाउन सुरु गरे पनि उमेर समूहमा नपरेका पर्यटन व्यवसायीहरुलाई पनि खोप लगाइदिन श्रेष्ठको माग छ । नेपाल टुर एण्ड ट्राभल एजेण्टस नाट्टा लुम्बिनी प्रदेशका महासचिव चन्द्रबहादुर थापाले अहिले पर्यटन व्यवसायीलाई तत्कालै खोप लगाउने व्यवस्था गर्नुपर्ने बताए ।

भैरहवाको बेलहिया नाका स्थलमार्ग हँुदै सबैभन्दा बढी तेस्रो मुलुक र भारतीय पर्यटक गर्छन् । भारतीय पर्यटकहरु अहिले नेपाल भ्रमणका लागि उत्सुक छन् ।

बुद्धजन्मस्थल लुम्बिनी पनि नजिकै रहेको र यहीं नाकाहुँदै धेरै भारतीयहरु पोखरा, चितवन, मुक्तिनाथ, पाल्पा भ्रमणका लागि जाने गरेका थिए भने भैरहवा र वरपरका क्यासिनोमा भारतीयको मुख्य आकर्षण थियो । २०७७ चैत्रदेखि नै यस क्षेत्रका क्यासिनोसहितका ठूला होटल मात्र नभइ सामान्य होटल पनि बन्दकै अवस्थामा रहेको सिद्धार्थ होटल संघका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘अब पर्यटन व्यवसायी, आवद्ध कर्मचारी सबैलाई खोपमा प्राथमिकता दिएर पर्यटन क्षेत्र खोल्नुपर्छ’, लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने ।

रुपन्देहीमा ५५ वर्षदेखि ६२ वर्ष उमेर समूहकालाई भेरोसिल खोप साउन १ गतेबाट लगाइने स्वास्थ्य कार्यालय रुपन्देहका प्रमुख डा. राजेन्द्र गिरीले बताए । त्यसैगरी ५० देखि ५४ वर्ष उमेर समूहकालाई जोन्सन एण्ड जोन्सनको सिंगल डोज खोप पनि लगाइने डा. गिरीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर