अर्थ र परराष्ट्रमन्त्रीमा विनोद चौधरीको चर्चा – Nepal Press

अर्थ र परराष्ट्रमन्त्रीमा विनोद चौधरीको चर्चा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज साँझदेखि पाँचौपटक प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दैछन् । नेकपा माओवादी र जनता समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीमा रहेका देउवाले पार्टीभित्र र गठबन्धनमा परामर्श गरिरहेका छन् । । नयाँ सरकार गठनको प्रक्रिया शुरू भएसँगै नेपाली कांग्रेसभित्र सम्भावित मन्त्रीको नामबारे चासो बढेको छ । यही चासोका बीच कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरीलाई मन्त्री बनाउनेबारे पनि कांग्रेसमा छलफल शुरू भएको छ ।

समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरीको सवै शीर्ष नेतासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । कांग्रेसका केही सांसद र योजना आयोगका पूर्वपदाधिकारीहरुले चौधरीलाई मन्त्री बनाउँदा सकरात्मक सन्देश जाने बताएका छन् ।

‘उद्यमशीलताको क्षेत्रमा विश्वमै सफल सावित भइसकेकोले नयाँ सरकारमा उहाँलाई उपयुक्त भूमिका दिइनुपर्छ । हामीले शीर्ष नेताहरुलाई बिनोदजीलाई मन्त्री बनाउन आग्रह गरेका छौं’, योजना आयोगका एक पूर्वपदाधिकारीले भने । सीजी कर्प ग्लोबलका अध्यक्षसमेत रहेका चौधरीले नेपालका एकमात्रै डलर अर्बपति हुन् ।

चौधरीलाई मन्त्री बनाउनेबारे सभापति देउवासहितका नेताले सकरात्मक प्रतिक्रिया दिए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनमा मन्त्रालय बाँडफाँड हुँदा कांग्रेसको भागमा कुन-कुन मन्त्रालय पर्ने निश्चित भइसकेको छैन । आफ्नो विशेषज्ञताको क्षेत्र भएकोले अर्थ वा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न तयार रहेको चौधरीले शीर्ष नेताहरूलाई अवगत गराएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत सम्बन्ध रहेका चौधरी कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना विशेष समितिका संयोजक समेत हुन् । उनको नेतृत्वमा कांग्रेसभित्र गरिखाने अभियान सञ्चालित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर