प्रचण्डले देउवासँग छलफल गरेपछि माओवादीले मन्त्रीको नाम टुंग्याउने – Nepal Press
माओवादी स्थायी कमिटी बैठक

प्रचण्डले देउवासँग छलफल गरेपछि माओवादीले मन्त्रीको नाम टुंग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् ।

अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकारको स्वरूपका बारमो ठोस छलफल गरेपछि मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाइने जानकारी श्रेष्ठले दिए ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकार सञ्चालनको निम्ति ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई अगाडि बढाउन पहल गर्ने निर्णय भएको छ । नामको बारेमा अहिले छलफल भएन ।’

पहिला आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कतिजना समावेश गर्ने, कुन कुन पार्टीहरु समावेश हुने भन्ने बारेमा एकपटक छलफल गरेपछि मात्रै मन्त्रिपरिषदमा पठाउने नामबारे निर्णय लिइने उनले बताए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भन्दै स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको र स्वेच्छाचारिता र निरंकुशताको नियन्त्रण तथा अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष बैठकले निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रतिगमनविरोधी संघर्षका क्रममा आफूहरूले गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारपूर्वक अघि बढ्ने संकल्प गरेको पनि उनले उल्लेख गरे ।

श्रेष्ठले भने, ‘यो फैसलाले संविधान र लोकतन्त्रको रक्षा र स्वेच्छाचारिता र निरंकुशतन्त्रको नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष वैठकले निकालेको छ । हामीले संविधान र लोकतन्त्रको पक्षमा आफुलाई प्रस्तुत गरिरहने क्रममा जे प्रतिबद्धताहरु व्यक्त गरेका छौँ, व्यवहारमा ति प्रतिवद्धताहरुप्रति पूर्ण इमान्दार र निष्ठावान भएर अगाडि बढ्ने संकल्प समेत गरेको छ । अब बन्ने सरकारलाई पनि त्यो दिशातर्फ अगाडि बढाउन भूमिका खेल्नेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर