बाढी, पहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, २७ बेपत्ता, ७३ घाइते – Nepal Press

बाढी, पहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, २७ बेपत्ता, ७३ घाइते

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी एक महिनाको अवधिमा ५९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिकाको मृत्यु भएको हो ।

तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा ५-५ जना, डोटी, पाल्पा र गोरखामा ४-४ जना, रोल्पा, दाङ, दार्चुलामा ३-३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २-२ जना, ललितपुर, सर्लाही, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १-१ जना रहेका छन् ।

यसै अवधिमा बाढीपहिरो र डुबानमा परी ७३ जना घाइते भएका छन् । तीमध्ये ३७ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पा र धादिङमा ६-६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५-५ जना, धनुषा र सर्लाहीमा ४-४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, चितवन, वाग्लुङ, गोरखा, दाङ, जुम्ला, दार्चुलामा २-२ जना, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, स्याङ्जा, हुम्ला, सल्यान, अछाम, बाजुरामा १-१ जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

एक महिनाको अवधिमा नै बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरोमा परेका एक हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी पूर्व १८ जना, लमजुङ र सल्यानबाट ८-८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४-४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरीको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण एक हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । पाँच सय ८३ वटा घर, एक सय सात वटा गोठ, ४३ वटा पुल, तीन् वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ६९ वटा पशु चौपायको मृत्यु भएको छ । यसै अवधिमा छ सय विपद्‍का घटनाबाट एक हजार एक सय ७६ घर परिवारका पाँच हजार चार सय ९५ जना विस्थापित भएका छन् ।

घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *