माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस् – Nepal Press

माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठवन्धनबाट आफू अलग भएको संकेत गरेका छन् । आज बसेको गठवन्धनको बैठकमा उनले आफ्नो पार्टी एमाले एकतातर्फ अघि बढेको भन्दै यस्तो संकेत गरेका हुन् ।

स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालकै घरमा बस्ने भनिएको बैठकमा धेरै नेताहरु उपस्थित भएपछि अन्यत्र सारिएको थियो । बैठकमा नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने बताएका थिए ।

बैठकपछि नेता रघुजी पन्तले दिएको जानकारी अनुसार नेता नेपालको भनाइ यस्तो थियो :

‘हामीले संविधान र लोकतन्त्रको रक्षाका लागि लडाईं लडेका हौं । जनताका हक अधिकारका पक्षमा लडेका हौं । अब बन्ने सरकार त्यस दिशामा काम गर्न सफल हुनुपर्छ । अहिले नयाँ परिस्थिति बनेको छ । हिजो हामी विभाजित अवस्थामा थियौं । अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेको छ । हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं । परिवर्तित अवस्थालाई तपाईंहरुले बुझिदिनुहोला । शेरबहादुरजीले सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधानको अगूवाइ गर्नुहोस् । एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमालेलगायत सबै राजनीतिक दलहरुसँग सरसल्लाह गरेर काम गर्नुस् । ’

नेता पन्तलाई पत्रकारले ‘तपाईंहरु देउवा सरकारमा सहभागी हुनुहुन्छ कि ? भनेर सोधेका थिए । पन्तले यसबारेमा आफ्नो पार्टीका बैठकले निर्णय गर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठक बस्छ । अध्यक्ष कमरेड कपी ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालहरुबीच छलफल हुन्छ । त्यसपछि प्रतिपक्षमा जाने कि सरकारमा बस्ने निर्णय हून्छ ।’

पन्तले आफूहरु सँधै विपक्षी गठवन्धनमा बस्न नसक्ने बताए । बीचमा समस्या आए पनि एमाले एउटै रहेको उनको भनाइ थियो । पार्टीभित्र भएको १० बुँदे सहमतिलाई पूर्ण बनाउँदै लैजाने भन्दै उनले थपे, ‘हामी एमालेलाई एकतावद्ध बनाएर राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका स्थापित गर्छौं ।’


प्रतिक्रिया

One thought on “माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

  1. माकुने नामको २ खुट्टे जनवरमा १% मात्र पनि मानिस ( चेतन्शिल प्राणि) को गुण हुन्थ्यो भने ‘एमाले’ को नाम लिन पनि ओठ काम्ने थिए !! अन्तर्घाती, नकचरो र भडुवाको त के सरम नै हुन्न !!!

Leave a Reply to nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर