एमालेको ठहर- सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍याे – Nepal Press

एमालेको ठहर- सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍याे

‘अदालतले प्रधानमन्त्री नियुक्त गर्ने अभ्यास शुरु भएको छ’

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताए ।

ज्ञवालीले भने- सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ ।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकमै वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएका थिए ।


प्रतिक्रिया

One thought on “एमालेको ठहर- सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍याे

  1. युरोपियन युनियनको दबदवा बढेको को असर नेपालको न्याय पालिकामा समेत परेको र MCC लाई नेपालको संसद बाट पास गराएर नेपाललाई ठुलो दलदलमा फसाउने खेलको यो पहिलो पाना हो । आरजु देउवा राणा को हुन, कहां बाट परिचालित छन् ? शेर बहादुर मुखडा हुन, रिमोट ता कता हो कता !
    मुक दर्सक भएर बस्नुको बिकल्पमा अबका दिनमा जनतालाइ सजक बनाउन आन्दोलनको बिकल्प नहोला । नेपालको संबिधान बन्दै गर्दा १२ बुदे सहमति भन्दा बाहिर र अन्तरिम संबिधानमा समेत नपरेका बुंदा नेपालको संबिधानमा समाहित हुन सक्छन भने यो न्यायालयको खेल ता ४, ५ जना संग मात्रै सॅलग्न भएकोले पश्चिमालाई सजिलै भएको हुनु पर्छ निर्णय गराउन। अब जनता सजग नभए देश अप्ठेरो दलदलमा जॅादैछ भन्ने मलाई लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर