फैसलाबारे सभामुखको प्रतिक्रिया-जनताको जित भयो – Nepal Press

फैसलाबारे सभामुखको प्रतिक्रिया-जनताको जित भयो

काठमाडौं । प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुर्नस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनले उल्लेख गरे । सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए ।

सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताए । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
सभामुख सापकोटाको भनाइ जस्ताको तस्तै-

आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधिश लगायत सम्पूर्ण सम्वैधानिक इजलाशका न्यायाधिशज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु । यसका साथसाथै यो संसद पुर्नस्थापनाका लागि र यो फैसला गराउनका लागि भुमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहान्छु । यो बहुआयामिक महत्वको छ ।

हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई हामीले समेटेका छौँ । यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरु पनि हामीले राखेका छौँ । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ । र यसले बहुआयामिक हिसाबले संसद विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अंगहरुलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको छ । धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरिय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।

हामी सबै बढि चिन्तित नै थियौँ । किनभनेदेखि प्रतिनिधि सभा विघटन मात्रै भएको होईन, यसको साथसाथै यसले व्यवस्था माथि नै अलिकति धक्का दिन लागिरहेको थियो । र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो । यो फैसलाले यि सबै खतराहरुको अन्त्य गरेको छ र नयाँ अध्याय सुरुवात गरेको छ । यस अर्थमा म फेरिपनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाई दिन चाहान्छु । म राजनीतिक पार्टीहरुलाई पनि ऐतिहासिक अबसरमा के अपिल गर्न चाहान्छु भने हरेक हिसाबले नयाँ अध्यायको सुरुवात भएको छ । विगतको जस्तै होईन विगतमा राजनीतिक पार्टीहरुले नै विगतको गम्भिर समिक्षा गर्दै खासगरी पहिलोचोटी संसद पुर्नस्थापना हुँदाखेरी संसदलाई धेरै प्रभावकारी बनाउन सकिएन । विभिन्न कारणहरु छ । त्यसमा मेरो भुमिकापनि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

त्यसका साथै राजनीतिक पार्टीहरु भनेको त पावर हाउसपनि हुन् । यिनको भुमिका निर्णायक हुन्छ । त्यसकारण राजनीतिक पार्टीले व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथ संसदमा बिजनेश दिने कुरादेखि लिएर जनताका आवाजहरुलाई चाहीँ राम्रोसित मुखरित गर्ने, खासगरी संघीय संसदलाई जिवन्त, जनमुखि, गतिशिल, चलायमान बनाउने जुन प्रण गरेका छौँ । त्यसलाई सफलिभुत बनाउनका लागि म प्रतिनिधि सभाको सभामुखको हैसियतले हाम्रो सचिवालय त त्यसमा लाग्ने नै छ । म के अपेक्षा गर्छु भने यो सर्वोच्च अदालतले जुन फैसला गरेको छ । त्यो फैसला जति प्रष्टताको साथ आएको छ, र त्यही स्पष्टताका साथ, त्यही जवाफदेहिताका साथ, त्यही पारदर्शी ढंगले पार्टीहरुले काम गर्नेछन् भन्ने मलाई लाग्दछ र मैले के ठानेको छु भने दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना, यसले गरेका ऐतिहासिक निर्णयका आधारमा मेरो पनि जिम्मेवारी थपिएको छ त्यही गम्भिरताका साथ त्यही जिम्मेवारीबोधका साथ मैले हिजोपनि भन्दै आएको जनताको सर्वोच्च जनप्रतिनिधि सभा, यसको ओझ, गरिमालाई उच्च पार्नका लागि , जनप्रतिनिधिको सर्वोच्च थलो, सार्वभौम अधिकारले सम्पन्न थलोलाई वास्तविक जीवनमै, व्यवहारिक रुपमै यसको सार्वभौम अधिकारलाई स्थापित गर्नका लागि जे सिद्धान्तमा व्याख्या भएको छ ।

यसको शक्ति सन्तुलन, शक्तिको पृथकिकरणको सिद्धान्तहरुलाई संविधानवाद यि सबैलाई स्थापित गर्नका लागि सबैको सहयोग मलाई प्राप्त हुनेछ । सबै सांसदहरुको, पार्टीहरुको, नागरिक समाजको, पत्रकार, वुद्धिजिवी, लगायत सबैको सहयोग प्राप्त हुनेछ र हामी नयाँ ढंगले अब पुर्नस्थापित संसदलाई चलाउनेछौँ । जनताले देख्नेगरी, बुझ्नेगरी, जनताले अनुभुत हुनेगरी यो नयाँ बन्दैछ भन्ने ढंगले सञ्चालन गर्नेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर