‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’ – Nepal Press
नेपाल टक

‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

पार्टी जेठ २ मा फर्काइएको छैन, विद्रोह र समानान्तर गतिविधि जारी छ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल समूहका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले एमाले कार्यदलबीच भएको सहमतिलाई व्यक्तिगत सहमतिको संज्ञा दिएका छन् । कुनै पनि हालतमा त्यो सहमति नस्वीकार्ने भन्दै राईले आफूहरूको समानान्तर गतिविधि कायम नै रहने प्रष्ट्याए । नेपाल प्रेससँग कुरा गर्दै नेता राईले सहमतिमा हस्ताक्षर गर्ने नेताहरू केपी ओली गुटमा प्रवेशका लागि सेफ ल्याण्डिङ मात्र खोजेकोले त्यो उनीहरूको व्यक्तिगत सहमति भएको दावी गरे । राईसँगको कुराकानी नेपाल टकमाः

हिजो कार्यदलमा सहमति भयो अब त एकताको बाटो खुल्यो नि हैन ?

हामी हिजोको सहमति मान्दैनौं । पार्टीमा केपी ओलीले अराजकता शुरू गरेपछि हामीले जुन असहमतिका साथ समानान्तर कमिटी बनाएर विद्रोह थालेका थियौं । त्यो कुनै पनि कुरा सहमति भएको छैन । पार्टी यथार्थमा जेठ २ फर्काइएको छैन । नेकपाकालीन नेता र अस्ति थपेका माओवादीका नेताहरूलाई हामीले नस्वीकार्दा नस्वीकार्दै पनि हामीसहित बसेर मान्यता दिने भन्ने छ । त्यसलाई हामी स्वीकार्दिनौं ।

जेठ २ फर्किन्छौं त भनियो नि ?

यसको सन्दर्भमा नेतृत्व (माधव कमरेड)ले नै पनि बोलिसक्नुभएको छ । राष्ट्रपतिसँग मिलेर केपी ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र कागजको खोस्टो बनाउने काम गरे । त्यसलाई हामीले प्रतिगमन भनेका छौं । त्यो सच्याउने प्रतिबद्धता खोजेका थियौं । त्यसमा केही बोलिएन । कम्तीमा अदालतले त्यसको फैसला गर्नुपर्छ । अहिले त न केपी ओलीको प्रतिबद्धता आएको छ, न त अदालतको फैसला नै ।

सबै सँगै बसेर छलफल गरी समाधान खोज्दा हुन्न ?

सरकारको हरेक काम स्वेच्छाचारी छ । ओलीले पार्टीको सल्लाह नै खोजेका छैनन्चा÷हँदैनन् । राजनीति नियुक्ति, मन्त्री नियुक्ति आफूखुशी गरिएको छ । गलत र विवादित मान्छेमात्र ल्याइएको छ । यस्तो अवस्थामा कसरी समाधान हुन्छ ।

माधव नेपालसँगको पद बाँडफाँड नमिलेर पो रोकियो कि ?

पक्षपात ढंगले पार्टीमा आफ्ना मान्छेलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिने सन्दर्भमा प्रदेश, जिल्ला, इच्चार्जहरू एकलौटी ढंगले बनाइएका छन् । कतिपय महत्वपूर्ण निर्णयमा दुई नेताको हस्ताक्षर हुनुपर्छ भनेका हौं । त्यो हुँदा सन्तुलन हुन्छ । कसैबाट एकलौटी निर्णय हुन पाउँदैन । त्यो विषयमा केही बोलिएको छैन ।

तपाईंकै पक्षको कार्यदलले पनि सहमतिमा हस्ताक्षर त गर्‍यो नि ! अब नस्वीकार्ने ?

हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि ! कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।

अब के गर्नुहुन्छ त तपाईंहरू ?

हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।


प्रतिक्रिया

One thought on “‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

  1. राजेन्द्र राईको हिक्मत भए आगामी महाधिवेशनमा अध्यक्ष लडे भैहाल्यो नि ! आफ्ना टाट्नामा घाँस-कूँडो हुँदाहुँदै अर्काको टाट्नामा लम्कन नपाउनुको पीडा ! बिचरा…..

Leave a Reply to पारिजात Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर