देउवाको मुद्दामा आज निर्णय आउने सम्भावना, ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा – Nepal Press

देउवाको मुद्दामा आज निर्णय आउने सम्भावना, ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गरेको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने सम्भावना छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा सुनुवाई सकिएपछि हेर्दा हेर्दैमा राखिएको मुद्दाको पेशी आज तोकिएको छ । फैसला आजै आउने वा नआउने प्रष्ट छैन ।

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा दिइएको छ । उनी केही दिनयता फैसला लेखनमा छन् । इजलासका सबै न्यायाधीश बसेर छलफल गर्ने बताइएको छ ।

इजलासमा प्रधानन्यायाधीशसहित वरिष्ठतम न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा छन् ।

धारा ७६ (५) बमोजिम केपी शर्मा ओली र शेरवहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न नसकेको भन्दै राष्ट्रपतिबाट जेठ ७ गते प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा भएको थियो ।

त्यसका विरुद्ध देउवासहित १ सय ४६ सांसद अदालत गएका थिए । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट दर्ता भए पनि संवैधानिक इजलासमा सबैभन्दा पनि देउवाको रिटमाथि सुनुवाई भएको हो ।

देउवाको पक्षमा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका थिए । फैसला आउने भनिएको अघिल्लो दिन एमालेमा १० बुँदे सहमतिसहित पार्टी एक भएको घोषणा भएको छ ।

योसँगै देउवाको दावी खण्डित भएको र अदालतले यसलाई विचार गर्ने तर्क एमालेको एउटा पक्षको छ भने माधव नेपालले भने देउवालाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।

संवैधानिक इजलासले दिने फैसलाले दुई महिनादेखि अदालतमा अड्किएका मुलुकको राजनीतिलाई निकास दिनेमात्र नभएर धेरै विषयमा ब्याख्या समेत गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर