भइसकेको सहमति कहाँ भाँडियो ? माधव नेपाललाई भेटेर फर्किए घनश्याम – Nepal Press

भइसकेको सहमति कहाँ भाँडियो ? माधव नेपाललाई भेटेर फर्किए घनश्याम

काठमाडौं । बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरवार पुगेका नेकपा एमाले वार्ता टोलीका सदस्यहरू ८ घण्टाभन्दा बढी समयदेखि वार्तामै छन् । शनिबार साँझ नै सहमतिलाई अन्तिम रुप दिइएको बैठकपछि सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले बताएका थिए ।

तर, आइतबार विहान ८ बजे संस्थापन पक्षका वार्ता टोली सदस्यहरू सिंहदरवार पुगे पनि माधव नेपाल पक्षधर वार्ता टोली कोटेश्वरमा गएको थियो । वरिष्ठ नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै मस्यौदामा असहमति जनाएका थिए ।

नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफूनिकट नेताहरुलाई बताएर पठाए । त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको उनीहरूको भनाइ छ ।

वार्ता टोली दिनभर अर्थमन्त्रालयमा रहे पनि सहमतिमा हस्ताक्षर हुन नसकेपछि भुसाल अपरान्ह पुनः माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । नेपालसँग छलफल गरेर उनी पुनः वार्तास्थलमा पुगेका छन् ।

वरिष्ठ नेता नेपालले आज आफूनिकट केही केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका छन् । सर्वोच्च अदालतको फैसलाअघि कुनै सम्झौता नहुने बताएका नेपालनिकट ती सदस्यले बताए ।

उता बालुवाटारमा भने सम्झौतामा हस्ताक्षर भएलगत्तै स्थायी कमिटी बैठक बस्ने भनेर सबै सदस्यलाई खबर गरिएको थियो । बिहान ८ बजे हस्ताक्षर हुने र ११ बजे माधव पक्षसहितको स्थायी कमिटी बैठक बसेर सहमति अनुमोदन गर्ने भनिए पनि साँझसम्म सहमति नभएपछि सदस्यहरु कुरेको कुरै भएका छन् ।

सहमतिमा हस्ताक्षर नभए पनि स्थायी कमिटी बैठक बस्ने तयारी छ । अपरान्ह ४ बजे सारिएको बैठक अहिलेसम्म वार्ता टोलीलाई पर्खेर रोकिएको छ ।


प्रतिक्रिया

One thought on “भइसकेको सहमति कहाँ भाँडियो ? माधव नेपाललाई भेटेर फर्किए घनश्याम

  1. माकुनेले सबै ब्येवस्थापन गरी दिने जिम्मा लिएका छन क्यारे, उनी वरिपरिका होनहार मान्छेहरु उनकै वरिपरी घुमेको घुमेइ छन !! तिनले आफ्नु खुट्टामा उभिन नसिकी, त्यो ल्याकत नबनाई कुनै निस्कर्स निस्किन्न !! पार्टी माकुनेको ल्याङ ल्याङमा अल्मलिन्छ !!

Leave a Reply to nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर