चितवनका नेचर गाइडद्वारा पेशागत सुरक्षाको माग – Nepal Press

चितवनका नेचर गाइडद्वारा पेशागत सुरक्षाको माग

चितवन । नेचर गाइड एशोसियसन चितवनले कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ । सौराहामा पत्रकार सम्मेलन गर्दै एशोसियसनले फ्रन्टलाइनमा बसेर पर्यटन प्रवर्धनमा क्रियाशील हुने भएकाले खोपको व्यवस्था गर्न माग गरेको हो । अध्यक्ष राजेन्द्र धामीले ४ बुँदे मागहरु राखे ।

उनका अनुसार नेचर गाइडहरुलाई कोभिड विरुद्ध खोपको व्यवस्था, नवीकरण शुल्क मिनाह, रोजगारी सृजना गर्नुपर्ने र नेचरगाइड कार्यविधि बनाउनुपर्ने मागहरु राखेका छन् । ‘सफारी पर्यटन सुचारु गर्न खोप अतिआवश्यक पर्छ,’ उनले भने, ‘जोखिम समूहमा पर्ने भएकाले तत्कालै खोपको व्यवस्था मिलाउनुपर्छ ।’

लगातारको लकडाउनले दक्षजनशक्ति पलायनको स्थितिमा पुगेकोमा उनले चिन्ता व्यक्त गरे । ‘जनशक्ति नै पलायन हुँदैछ, भविष्यमा सफारी पर्यटनमा असर देखिनेछ,’ उनले भने, ‘अहिल्यै वार्षिक नवीकरण शुल्क मिनाह गरियोस् ।’ नेचरगाइडहरुलाई अन्य रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

वन्यजन्तु, वातावरण संरक्षणमा समेत योगदान गर्दै आएकाले नेचर गाइडहरुलाई अन्य रोजगारीका अवसरमा पहुँच बढाउनुपर्ने माग गरे ।

निकुञ्ज, मध्यवर्ती क्षेत्रको जंगलमा सफारी, सांस्कृतिक पर्यटनबारे पर्यटकलाई सहिसूचना प्रवाह गर्ने काममा नेचर गाइडहरु क्रियाशील छन् । चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रर्दशक ७ सय बढी छन् । ती मध्ये ५ सय जना नेचरगाइडहरु छन् । सौराहामा मात्रै ४ सय जना क्रियाशील छन् ।

जसमध्ये १ सय ५० जना होटलमा, १ सय ५० जना गाइड अफिसमा र १ सय जना स्वतन्त्र पथप्रर्दशक छन् । कोभिडका कारण २ वर्षदेखि चितवनको पर्यटन पनि प्रभावित छ । पूर्व अध्यक्ष उदयचन्द्र अर्यालले नेचरगाइडको आयआर्जनै अहिले बन्द अवस्थामा रहेको बताए ।

‘सिजनमा २० देखि ७० हजार आम्दानी गर्नेहरु अहिले आम्दानी विहिन छन्,’ उनले भने, ‘सरकारले पलायन हुनबाट जोगाओस् ।’ १५ दिनसम्मको तालिम पछि निकुञ्जले दिएको प्रमाणपत्रका आधारमा पथप्रर्दशक (गाइड) को परिचय पत्र पाउँछन् । परिचयपत्र नवीकरण गर्न वार्षिक २ हजार शुल्क तिर्नुपर्छ । केही वर्षयता सीटीईभीटी मार्फत गाइड सम्बन्धी कोर्ष हुन थालेको छ । सफारी पर्यटनको मुख्य जनशक्तिलाई वेवास्ता नगर्न उनले तीनै तहका सरकारसँग आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *