राष्ट्रिय भुक्तानी स्वीच आगामी आर्थिक वर्षभित्र निर्माण हुने, नेपालको आफ्नै पेमेन्ट कार्ड बन्दै – Nepal Press

राष्ट्रिय भुक्तानी स्वीच आगामी आर्थिक वर्षभित्र निर्माण हुने, नेपालको आफ्नै पेमेन्ट कार्ड बन्दै

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् ‘राष्ट्रिय भुक्तानी स्वीच’ निर्माण गरी सबै प्रकारका कारोबारहरुमा अन्तरआवद्धता कायम गरिने सरकारले बताएको छ ।

राष्ट्र बैंकले आ.व २०७७/७८ को मौद्रिक नीतिमार्फत सरकारको डिजिटल नेपाल फेमवर्कलाई सघाउने गरी वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गर्ने लक्ष्यसमेत लिएको छ । नेपालभित्र हुने विद्युतीय कारोवारको अभिलेख कायम गरी भुक्तानी प्रणालीलाई सहजीकरण गर्नका राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्रिय भुक्तानी स्वीचमा ‘क्युआर कोड’ तथा कार्ड तथा ‘ननकार्ड’को माध्यमबाट विद्युतीय कारोबारलाई समावेश गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्रिय भुक्तानी स्वीच निर्माणको जिम्मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दिइएको छ ।

स्वीच निर्माणपछि भुक्तानी सञ्चालन, नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी पनि क्लियरिङ हाउसलाई नै दिने राष्ट्र बैकको तयारी छ ।

नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको स्वामित्व भएको भुक्तानी सम्वन्धी कार्य गर्दै आएको साझा संस्था हो, नेपाल क्लियरिङ हाउस । यसले कनेक्ट आइपीएसमार्फत् भुक्तानी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । यस संस्थामा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र अन्य वित्तीय संस्थाहरुको ९० प्रतिशत सेयर छ ।

राष्ट्रिय स्वीच भनेको के हो ?

नेपालभित्र भएका र हुने सबै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी कारोबार तथा सूचनाको अभिलेख गर्ने काम राष्ट्रिय स्वीचमार्फत हुनेछ । हाल नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी अभिलेख र सूचनाहरू बाहिर जाने गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र राष्ट्रिय स्वीचले वित्तीय संस्थाहरूको भुक्तानी प्रणालीलाई सिङ्गल विन्डोमार्फत अन्तरआवद्धता गराइदिने बताउँछन् ।

‘राष्ट्रिय स्वीच निर्माण भएपछि एटीएम तथा अन्य डिजिटल भुक्तानीमार्फत हुने कारोबार एउटै प्रणालीमा हुन्छ । यसले बैंक तथा वित्तीय संस्थालाई अन्तरआवद्धता गराई र आफ्नै राष्ट्रिय भुक्तानी कार्डमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्नेछ,’ मिश्रले नेपाल प्रेसलाई बताए ।

‘जसले गर्दा नेपालको सूचना बाहिर नजाने, एकद्धार प्रणालीको स्थापना हुने र एटीएम कार्डमार्फत विदेश जाने रकम रोकिन्छ,’ उनले भने ।

मिश्रले रत्नपार्कस्थित बसपार्क उदारण दिदै भने ‘काठमाडौं उपत्यकाभित्र गुडने प्रत्येक सवारी साधानहरू रत्नपार्कस्थित बसपार्कमा आउँछन् र त्यहीबाट विभिन्न गन्तव्यमा जान्छन्, त्यसरी प्रत्येक भुक्तानी सम्बन्धी कारोबार राष्ट्रिय स्वीचमा जोडिन्छन् र त्यहीबाट भुक्तानीका लागि अनुमति प्राप्त गर्छन् ।’

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरू यस प्रणालीभित्र जोडिने नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् । ‘एकद्वार प्रणालीमार्फत् जति पनि भुक्तानी सम्बन्धी कारोबार गर्दै आएका कम्पनीहरू यसमा जोडिन्छ । यसमा कार्डमार्फत् भुक्तानी सेवा प्रदान गर्दै आएका कम्पनीहरूलाई र नेपालको आफ्नै कार्डका लागि पनि नेटवर्क निर्माण गरेर एकिकृत कारोबार गर्ने गरी प्रणाली निर्माण गरिरहेका छौं’, उनले भने ।

कार्डमार्फत् हुने भुक्तानीका लागि नेपालको आफ्नै ‘नेपाल पमेन्ट कार्ड’ पनि हुने तथा विदेशी कार्ड कम्पनीहरू भिसा, एससीटी र युनियन पेलाई समेत यसमा समावेश गरिने बताइएको छ ।

कहिलेसम्म हुन्छ राष्ट्रिय स्वीचको निर्माण ?

राष्ट्रिय स्वीच निर्माणलाई मौद्रिक नीति र बजेट मार्फत नै सरकारले चासोपूर्वक हेरिरहेकाले यसको काम तिव्रताका साथ अगाडी बढिरहेको निर्माता नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।

कार्ड, ननकार्ड र नेशनल पमेन्ट कार्डका लागि आवश्यक पूर्वाधारहरू निर्माणको काम करिब अन्तिम चरणमा रहेकाले आगामी आर्थिक वर्षभित्र यो प्रणाली निर्माण हुने अपेक्षा क्लियरिङ हाउसको छ । ननकार्ड अन्तर्गतका भुक्तानी प्रणाली एनसीएचएलले ‘कनेक्ट आइपीएस’, ‘एनपीआई’ लगायतका माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।

यही प्रणालीमा केही थप पूर्वाधार तथा अन्तर्राष्ट्रिय स्तरको मापदण्डहरू थप गरिने बताइएको छ । कार्डका लागि आवश्यकपर्ने प्रविधि, पुर्वाधार, स्वीच, नेटवर्क र अन्तरआवद्धताका लागि प्रणाली स्थापित गर्ने काम भइरहेको नेपाल क्लियरिङ हाउस लिमिटेटका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् ।

तेस्रो कम्पोनेन्टको रूपमा रहेको नेपाल पमेन्ट कार्डको कामहरु पनि तिब्रताका साथ अगाडी बढिरहेको र अब केही समयमा राष्ट्रिय स्वीचका पूर्वाधारहरूको सफ्ट लञ्च गरिने उनले जानकारी दिए ।

‘कतिपय ननकार्डका सेवाहरू हामी आफैँले पनि दिँदै आएका छौं । ननकार्डमा पनि केही पूर्वाधार थप गरी कार्ड र नेपाल पमेन्ट कार्डका आवश्यक पुर्वाधार, प्रविधि र स्वीच निर्माण भइरहेको छ ।’ आगामी आर्थिक वर्षभित्र यसका सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ ।’

गोपनियता तथा प्रावधिक पक्षलाई बलियो बनाइने

राष्ट्रिय स्वीच निर्माणमा नेपाल सरकार तथा बैंक तथा वित्तीय संस्थाले निकै नै राम्रो लगानी गर्ने भएकाले यो विश्वस्तरको भुक्तानी सम्बन्धी सम्पूर्ण मापदण्डको प्रयोग गरिने बताइएको छ । यसले गर्दा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा हुने गरेको साइवर आक्रमणको घट्ना कम हुने अनुमान निर्माताको छ ।

अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डको पालना गरी कडा सेक्युरिटी प्रणाली निर्माण गरिने बताइएको छ । जति बलियो प्रणाली निर्माण गरेपनि नयाँ खालका साइबर हमला हुन सक्ने भएकाले समय समयमा संभावित जोखिमको परीक्षण गरिने एनसीएचएलको भनाई छ ।

यसमा अन्तरआवद्धता हुने सम्पूर्ण संस्थाको विद्युतीय कारोबार एनसीएजएलमा मात्रै हुनेछ । यसका आवद्धता भएका संस्थाले आफ्नो बाहेकको अन्य कम्पनीको डाटामा एक्सेस प्राप्त गर्नेछैनन् । राष्ट्रिय स्वीच निर्माण भएपछि विद्युतीय भुक्तानी प्रणालीमार्फत् भएका कारोबारलाई निकै गोप्य राखिने बताइएको छ । नियामक नेपाल राष्ट्र बैंकलेसमेत यस प्रणालीमा एक्सेस प्राप्त नगर्ने र राष्ट्र बैंकलाई आवश्यक तथ्याङ्क एनसीएचएल आफैँले उपलब्ध गराउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *