वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा ! – Nepal Press

वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा !

‘१ सय २ को पेट्रोल १ सय २९ पुग्दा पनि भारतमा भन्दा नेपालमै सस्तो’

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ । मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि पाक्षिक घाटा ६५ करोड रहेकोमा मूल्यवृद्धिपछि घाटा अझ बढेको हो । अघिल्लो अवधिमा निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको बिक्री कम थियो ।

मंगलबार मूल्यवृद्धि गर्दा पनि निगम पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा हुनेछ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो । अघिल्लो मूल्य समायोजनको बेला लकडाउन भएकाले पेट्रोलियम पदार्थको बिक्री कम थियो र घाटा पनि कम थियो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल विश्व बजारको मूल्यकै आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताउँछन् । डलरको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र राजस्वका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको पौडेलको भनाई छ ।

‘नेपाल आयल निगमले व्यापार गरेको छैन । हामी त भन्सारजस्तै निकाय हो । व्यापार त पम्पहरूले गरिरहेका छन् । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्य नै हामीले तोक्ने हो’, पौडेलले नेपाल प्रेससँग भने । पौडेलका अनुसार हाल निगमले पेट्रोलमा ७ करोड, डिजेलमा ४ करोड, मट्टितेलमा २१ करोड, एलपी ग्यासमा ३ करोड र एविएशन टर्बाइन फ्यूलमा १६ करोड रूपैयाँ पाक्षिक घाटा व्यहोरेको छ ।

कहिले-कहिले बढ्यो पेट्रोलियममा पदार्थको मूल्य ?

चालु अबमा सबैभन्दा पहिले २०७७ साउन १७ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्य वृद्धि भएर १ सय ४ रूपैयाँ तथा डिजेल र मट्टितेल ८८ रूपैयाँबाट मूल्य वृद्धि भइ ९० रूपैयाँ पुगेको थियो ।

साउन ३२ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ५ रूपैयाँ तथा डिजेल र मट्टितेल ९० रूपैयाँबाट ९१ रूपैयाँ मूल्य पुगेको थियो ।

आवको दोस्रो महिना भदौ १६ गते पेट्रोल प्रतिलिटर १ सय ५ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ७ रूपैयाँ तथा डिजेल मूल्य पुगेको थियो । त्यतिबेला डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

त्यसपछि मंसिर २७ गते मात्रै मूल्यवृद्धि भएको छ । २७ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको थियो । ग्यास र हवाइ इन्धनको मूल्य यथावत नै रहेको थियो । एकैपटक २ महिनापछि पेट्रोल १ सय ७ रूपैयाँबाट १ सय ८ रूपैयाँ पुगेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्यवृद्धि भई प्रतिलिटर ८९ बाट ९० रूपैयाँ पुगेको थियो ।

कोरोनाको समयमा पेट्रोलियम पदार्थका उपभोक्तालाई केही राहत होस् भनेर सरकारले केही महिना मूल्यवृद्धि गरेन । एकैपटक २०७७ माघ ५ गते मूल्य संमायोजन भएको थियो । जसबाट १ सय ८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोल १ सय १० रूपैयाँ पुगेको थियो । डिजेल र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट मूल्यवृद्धि भई प्रतिलिटर ९३ रूपैयाँ कायम भएका थिए । सो समयमा ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको थियो । त्यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० बाट १ सय १२ रूपैयाँ कायम भएको थियो । डिजेल र मट्टितेल भने प्रतिलिटर९३ रूपैयाँबाट मूल्यवृद्धि भएर ९५ रूपैयाँ प्रतिलिटर पुगेका थिए । त्यतिबेला खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय रूपैयाँ पुगेको थियो ।

फागुन ४ गते पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भइ १ सय १४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ मूल्य वृद्धिभई ९७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । सो समय हवाइ इन्धनको ६५ रूपैयाँ प्रतिलिटरबाट मूल्यवृद्धि भई ६७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो ।

फागुन १७ गते पेट्रोलमा २ रूपैयाँ मूल्यवृद्धि भई १ सय १६ रूपैयाँ प्रतिलिटर नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ प्रतिलिटर मूल्यवृद्धि भई ९९ रूपैयाँ प्रतिलिटर पुगेको थियो । आन्तरिक हावइ इन्धन प्रतिलिटर ६७ रूपैयाँबाट ७२ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ६८ बाट वृद्धि भई अमेरिकी डलर ८ सय ९३ पुगेको थियो ।

२०७७ चैत ३ गते पेट्रोल प्रतिलितर २ रूपैयाँ मूल्य वृद्धि भई प्रतिलिटर १ सय १८ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलको प्रतिलिटर १ सय १ रूपैयाँ नयाँ मूल्य काम भएको थियो । त्यस्तै आन्तरिक हावइ इन्धन प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई ७४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । सो समयमा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य पुरानै यथावत रहेको थियो ।

२०७७ चैत २२ गते पेट्रोलको प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई १ सय २० रूपैयाँ प्रतिलिटर पुगेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ नै मूल्यवृद्धि भई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । २२ गते आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत नै रहेको थियो ।

२०७८ बैशाख ४ गते पेट्रोल प्रतिलिटर १ रूपैयाँ मूल्यवृद्धि भई १ सय २१ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रूपैयाँ मूल्य वृद्धिभई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । जेठ २ गते पेट्रोलमा १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा २÷२ रूपैयाँ मूल्यवृद्धि भई पेट्रोल प्रतिलिटर १ सय २३ रूपैयाँ तथा डिजेल र मट्टितेल १ सय ६ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँ वृद्धि भई ७८ रूपैयाँ मूल्य कायम भएको थियो ।

जेठ २२ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २५, डिजेल तथा मट्टितेल १ सय ८ र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८० रुपैया कायम भएको थियो ।

गत असार ९ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २७, डिजेल तथा मट्टितेल १ सय १० र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८२ रुपैया मूल्य पुगेको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलड ७ सय १५ बाट मूल्यवृद्धि भई ७ सय ३५ पुगेको थियो ।

आर्थिक वर्षको अन्तिम पटक गत असार २२ गते सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोल, डिजेल, मट्टितेल प्रतिलिटर २÷२ रूपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ, आन्तरिक हवाइ इन्धनमा २ रूपैयाँ र अन्तर्राष्ट्रिय हवाइमा इन्धनमा १९ अमेरिकी डलर वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २९, डिजेल तथा मट्टितेल १ सय १२, ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५, आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८४ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रति किलोलिटर अमेरिकी डलर ७ सय ५४ मूल्य पुगेको छ ।

कति पटक घट्यो मूल्य ?

२०७७ भदौं ३१ गते पेट्रोल, ग्यास र हावइ इन्धनको मूल्य यथावत रही डिजेल र मट्टितेलको मूल्य घटेको छ । डिजेट र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट घटेर ९० रूपैयाँ तोकिएको थियो ।

त्यस्तै असोज १५ गते पेट्रोल र हवाइ इन्धनको मूल्य यथावत रही पेट्रोल र मट्टितेलको मूल्य घटेको थियो । सो समय डिजेल र मट्टितेल प्रतिलिटर ९० रूपैयाँबाट घटेर ८९ रूपैयाँ नयाँ मूल्य लागु भएको थियो ।

जेठ २३ गते अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलर ७ सय १५ कायम भएको थियो । यसभन्दा पहिले ८ सय ९३ अमेरिकी डलर प्रति किलोलिटर मूल्य रहेकोमा एकैपटक १ सय ७८ अमेरिकी डलर प्रति किलोलिटर मूल्य घटेको हो ।

कति लिन्छ सरकारले कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रुपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् ।

डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ ।

उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ । यी सबै शुल्कहरु उपभोक्ताबाटै प्रत्यक्ष लिने गरिएका कारण निगमले किन्दा सस्तोमा आएको पेट्रोलियम पदार्थ उपभोक्ताले किन्दा महंगो पर्न गएको हो ।

भारतमा भन्दा नेपालमा नै सस्तो !

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतमा भन्दा नेपालमा तेलको मूल्य सस्तो भएकाले नेपालबाट भारत तेल तस्करी हुने गरेको पाइन्छ । भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १ सय ६४ रूपैयाँ १९ पैसा पर्छ । नेपालको वीगञ्जमा भने १ सय २७ रूपैयाँ ५० पैसा मूल्य रहेको छ । सीमाना वारिपारी ३६ रूपैयाँ ६९ पैसा मूल्य फरक रहेको छ । भारतबाटै आयात हुने पेट्रोल भारतमा भन्दा प्रतिलिटर नेपालमा ३६ दशमलव ५९ प्रतिशत सस्तो रहको छ ।

त्यस्तै डिजल पनि भारतमा भन्दा नेपालमा नै सस्तो रहको छ । भारतमा प्रतिलिटर १ सय ५३ रूपैयाँ ९४ पैसा मूल्य रहेको छ । नेपालमा १ सय १० रूपैयाँ ५० पैसा प्रतिलिटर मूल्य रहेको छ । भारतमा भन्दा नेपालमा प्रतिलिटर ४३ रूपैयाँ ४४ पैसा प्रतिलिटर सस्तो रहेको छ ।

भारतबाटै ल्याउने तेल कसरी हुन्छ सस्तो ?

भारतमा संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि थप कर लिने गरेकाले नेपालमा भन्दा भारतमा तेलको मुल्य मंहगो हुन्छ । नेपालमा पेट्रोलियम पदार्थमा केन्द्र सरकारले मात्रै कर लिने गरको छ । भारतमा भन्दा नेपालमा ‘ओभरहेड रेट’ कम हुने भएको पनि सस्तो भएको निगमको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर