नेपाल-भारत रेल सेवा संशोधित सम्झौतामा हस्ताक्षर – Nepal Press

नेपाल-भारत रेल सेवा संशोधित सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल-भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएको छ । योसँगै वीरगंजमा आधारित भएर हुने आयात निर्यात व्यापार देशको अन्य सीमावर्ती शहरमा पुग्ने भएको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संसोधन सम्झौतामा हस्ताक्षर गरेका छन् । संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ । यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगंज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सिमावर्ती शहरमा पनि आयात-निर्यात व्यापारमा सहज हुनसक्ने सुविधा रहेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए ।

संशोधित सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरू नेपाललक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाललक्षित ढुवानी गर्न गराउन सकिने व्यवस्था गरिएको उनले ताए ।

त्यस्तै नेपाललक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्नेगरी सम्झौता संशोधन भएको छ । हाल वीरगंजसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगंज दोधारा चाँदनी लगायतका स्थानमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल-भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर