अभियन्ताले अनुसन्धानमा भाँजो हालेकै हो ? यस्तो थियो सावित्री सुवेदीको ‘सडक फैसला’ – Nepal Press
सुजिता भण्डारी मृत्यु प्रकरण

अभियन्ताले अनुसन्धानमा भाँजो हालेकै हो ? यस्तो थियो सावित्री सुवेदीको ‘सडक फैसला’

चितवन । चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युबारे प्रहरीको अनुसन्धान जारी छ । जिल्लाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले हिजो सामाजिक अभियन्ताले नेतृत्व गरेको आन्दोलनका कारण अनुसन्धानमा अवरोध पुगेको भन्दै तीतो पोखे ।

सिमित पत्रकारहरुसँग एसपी अधिकारीले भनेका थिए, ‘पीडितको परिवारलाई भनेका बेला भेट्न नपाएको अवस्था छ । कर्फ्यू व्यवस्थापनमा खटिनैपर्‍यो । काठमाडौंबाट आएका केही अभियन्ताले समाजलाई भड्काउने काम गरे ।’

सुजिता बेपत्ता भएको घटनादेखि चितवनमा युट्यूवर र अभियन्ताहरू बाक्लै सल्बलाउन थालेका थिए । सुजिताको शव भेटिएसँगै विरोध प्रदर्शन शुरू भयो । प्रदर्शनका क्रममा आवागमन अवरोध गर्नेदेखि लिएर नाराजुलुस भए । आन्दोलनकारी प्रहरीविरुद्ध खनिए । प्रहरीकै चरम लापरवाहीले मृत्यु हुनपुगेको उनीहरुले आरोप लगाएका छन् । पोष्टमार्टमको रिपोर्टमाथि पनि उनीहरूको विश्वास छैन ।

प्रहरीले भने भिसेरा रिपोर्ट आएपछि बल्ल निस्कर्षमा पुग्न सजिलो हुने बताएको छ ।

एसपी अधिकारीले हिजो आयोजित पत्रकार सम्मेलनमा भने, ‘धेरै सूचना संकलन गरिसकिएको अवस्था छ । अनुसन्धानकै चरणमा भएकाले डिटेलमा भन्न मिल्दैन ।’

चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापा घटनालाई विषयान्तर गर्दै भीडलाई उग्र बनाउने काममा केही अभियन्ता लागेको बताउँछन् ।

उनले भने, ‘रिपोर्ट आइसक्यो भनेर भ्रम छरेछन् । आगो नबालेसम्म केही हुँदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयलाई उक्साउने काम पनि भए । कर्फ्यू नै लगाउनुपर्ने अवस्था सृजना गरियो ।’

महिला अधिकारवादी अभियन्ताका रूपमा चिनिएकी (पेटीकोट आन्दोलनबाट चर्चित) सावित्री सुवेदी काठमाडौंबाट चितवन आएर आन्दोलन चर्काउन उद्द्धत भइन् । उनले प्रहरीका कारण सुजिताको हत्या भएको दावी गरिन् ।

सुवेदीले असार २२ गते झुरझुरेमा आयोजित एउटा प्रदर्शनका क्रममा ‘फैसला’ सुनाएकी थिइन्, ‘सुजितालाई अपहरण गरियो, बलत्कार गरियो र हत्या गरियो यसमा दुई मत छैन । उनको हत्यामा प्रहरी जिम्मेवार छ ।’

उनी थप्छिन्, ‘महिलाको केसलाई मजाकका रूपमा लियो । उमेर पुगेकी छोरी थिइन, पोइला गई भनेर बर्दीमा बसेको प्रहरीले भन्न मिल्छ ? प्रहरीको चरम लापरवाहीले सुजिता भण्डारीको मृत्यू भएको हो । त्यसकारणले गर्दा प्रहरीलाई तुरुन्तै गिरफ्तार गरियोस् ।’

प्रहरीले आफूलाई बारम्बार फोन गरेर ‘तँ त्यहाँ किन गएको ?’ भन्दै दबाब दिएको उनको भनाइ छ ।

सावित्रीले भनेकी छन्, ‘ए बाबा, म जस्तो छोरी मरेको छ, भोलि म मरे भनेँ ? हामी न्यायका लागि आएका हौँ, हामी कसैसँग डराउनेवाला छैनौँ ।’

‘त्यहाँ किन गएको रे ? महिला हिंसा भएको छ, बलात्कार गरेर मारेको छ । न्यायको वकालत गर्न यहाँ आएको हो । कसैले रोक्ने वाला छैन । डराउनेवाला पनि छैनौँ,’ उनी भन्छिन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनका अध्यक्ष संगीता भट्टराई भने अभियन्ताले अनुसन्धानलाई प्रभावित बनाएको आरोप स्वीकार गर्दिनन् ।

उनले भनिन्, ‘सूचना दिने, अनुसन्धान छिटो गर, समाजमा अपराध नहोस् भनेर भन्नु गलत हुन्छ र ? यो घटनामा प्रहरीकै उदासिनता छ, होइन र ?’

आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र स्थानीयलाई नै आन्दोलनको नेतृत्व लिन सुझाएको भट्टराईले बताइन् ।

‘खबरदारी निरन्तर गर्नुपर्छ, तर घटनालाई अतिरञ्जित गर्नु हुँदैन भन्नेमा हामी सजग छौँ,’ उनले भनिन, ‘बाहिरबाट आएका अभियन्ताबारे हामी जानकार छैनौँ, अनावश्यक एक्सपोज गरेर युट्युवमा बढी भ्यूज बटुल्ने काम हुनु हुँदैन ।’

यौनजन्य हिंसाविरुद्ध चितवनकी संयोजक महिला अधिकारकर्मी मीना खरेल अनुसन्धानलाई सघाउने काममा लागेको बताउँछिन् ।

‘चितवनमै चरणबद्ध घटना भएका छन् । दोषी पत्ता लगाएर सार्वजनिक गर्नुपर्छ,’उनले भनिन्, ‘सुजिता लगायतका घटनाको वास्तविकता छिटोभन्दा छिटो सार्वजनिक गर्न प्रहरी लाग्नैपर्छ ।’

चितवनका राजनीतिक, महिला संघ-संगठन, महिला अधिकारकर्मीहरूले राप्ती-३ झुरझुरेमा केन्द्रित भएर आन्दोलन गर्न नचाहेको देखिन्छ । उनीहरू स्थानीयको शान्तीपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सदरमुकाम केन्द्रित बने । मौनजुलुस, विज्ञप्ति निकाल्ने, प्रहरी प्रमुखलाई भेटेर दबाब दिने, चौविसकोठीमा शोकसभा गर्नेजस्ता काम उनीहरूले गरे । सावित्राले भने असार २२ गते झुरझरेमै पुगेर उत्तेजक भाषण गरेकी थिइन् ।

यो घटनामा आफूलाई अभियन्ताको रूपमा समेत प्रस्तुत गर्ने केही युट्यूवरहरुले पनि निकै उछाल्ने काम गरे । युट्यूवमा अतिरञ्जित र भ्रामक हेडलाइनसहित पोष्ट भएका भिडियोले पनि सर्वसाधारणलाई भड्काउने काम गरेको प्रहरीको निस्कर्ष छ ।

चितवनको राप्ती-३ प्रगतिपुरकी २३ वर्षिया सुजिता असार ११ देखि बेपत्ता भएकी थिइन् । घरनजिकैको सामुदायिक बनमा उनी २० गते मृत भेटिइन् । बेपत्ता भएकै दिन दिउँसो दिदीलाई फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी सुजिता अन्ततः मृत फेला परेकी हुन् ।

जीवित आउने आशमा रहेका स्थानीय २१ गते सुजिताको शवसहितको एम्बुलेन्सलाई राजमार्गमा देखेपछि आक्रोशित बनेका थिए । करिब ८ घण्टा नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती-३ झुरझुरेमा उनीहरूले प्रर्दशन गरे । २२ गते पनि दिनभर प्रर्दशन भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले लोथरपुलदेखि डडुवासम्मको राजमार्गको ५ सय मिटर दायाँ-बायाँ भागमा लागु हुनेगरी २२ गते साँझ ७:३० बजेदेखि २४ गते साँझ ७:३० बजेसम्म कर्फ्यू नै लगायो । सिमरा चोकमा अश्रुग्याँस प्रहार भयो भने स्थानीय र प्रहरीबीच झडपहरु भए ।

१३ जना प्रहरी स्थानीयले हानेको ढुंगाले लागेर घाइते भए । तर, केही पर स्थानीयले टायर बाल्ने, सडकमा अवरोध गर्न छाडेनन् । प्ले कार्ड बोकेर भण्डारा बजार, वीरेन्द्रनगरमा शान्तिपूर्ण र्‍याली निस्क्यो । खुरखुरे चोकमा न्याय माग्दै नाराबाजी रोकिएन । स्वतस्र्फुत निस्केको र्‍याली, प्रदर्शनलाई केही अभियान्ताले भड्काएको बुझाइ प्रहरीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर