संस्थापनविरुद्ध साझा उम्मेदवार बनाउन अर्जुननरसिंहको अग्रसरता – Nepal Press

संस्थापनविरुद्ध साझा उम्मेदवार बनाउन अर्जुननरसिंहको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इत्तर समूहबाट साझा उम्मेदवार बनाउन कसरत सुरु भएको छ । कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले संस्थापन इत्तर समूहबाट नेतृत्वमा दावी गरेका नेताहरुबीच सहमति गराउन अग्रसरता लिएका छन् ।

विगतदेखि नै साझा उम्मेदवार बनाउन पहल गरिरहेका नेता केसीले आज नेतृत्वका दावेदारलाई छलफलमा बोलाएका छन् । छलफलमा सभापतिका दावेदारहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा.शेखर कोइराला लगायतलाई बोलाइएको छ ।

अपरान्ह ४ बजेका लागि बोलाइएको छलफलमा भावी नेतृत्वकै विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । ‘हाम्रा बीचमा साझा धारणा र सहमति कायम गरेर जानुपर्छ भनेर मैले भन्दै आएको हो । त्यसैले आज नेतृत्वका लागि योग्य केही नेताहरुसँग बसेर छलफल गर्दैछौं’, नेता केसीले नेपाल प्रेससँग भने ।

कांग्रेसका सामू गम्भीर चुनौती रहेको र लोकतान्त्रिक प्रणाली जोगाउने दायित्व पनि रहेकोले महाधिवेशनमा अधिकतम एकता प्रस्तुत गर्नुपर्ने बताए । आफू पनि नेतृत्वका लागि योग्य रहेको दावी गर्दै आएका नेता केसीले सबैको सहमति जुटाउन प्रयास थालेका हुन् ।

१३ औं महाधिवेशन सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका केसी महाधिवेशनलगत्तै देउवासँग असन्तुष्ट भई संस्थापन इत्तर समूहमा जोडिएका थिए । त्यसयता उनले देउवाइत्तर समूहलाई एकताबद्ध बनाउन विभिन्न चरणमा पहल गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर