बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ घाइते, २९ बेपत्ता – Nepal Press

बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ घाइते, २९ बेपत्ता

पछिल्लो २४ घण्टामा मात्र ७ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना पुरुष, १५ जना महिला, पाँच बालक र पाँच बालिका रहेका नेपाल प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा पाँच, डोटीमा पाँच, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन–तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा तीन–तीन, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रेपलाञ्चोक, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

बाढी, पहिरो र डुबानमा परी यसै अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र पाँच जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा सात, धादिङमा ६, सिन्धुपाल्चोक र रोल्पामा पाँच–पाँच, धनुषा र सर्लाहीमा पाँच–पाँच, खोटाङ, कास्की, म्याग्दी र डोटीमा पाँच-पाँच जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा पाँच-पाँच, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा पाँच-पाँच जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, तीन बालक र एक बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वत र तनहुँमा दुई तथा बाजुरा र बाग्लुङमा एक-एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको छ ।

बाढीपहिरोमा परेका एक हजार दुई सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६, चितवनमा चार सय दुइ, सिन्धुपाल्चोकमा एक सय २३, दोलखामा ३५, नवलपरासी (पूर्व) का १८, लमजुङ र सल्यानबाट आठ-आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार-चार र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपछि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको छ ।

बाढीको कारण एक हजार पाँच सय १६ वटा घर डुबानमा परेका छन् । पाँच सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा पाँच सय ३९ वटा विपद्‍का घटनाबाट एक हजार एक सय ५८ वटा घर परिवारका पाँच हजार चार सय २३ जना मानिस विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए ।

पछिल्लो २४ घण्टामा मात्र दार्चुलामा तीन जना, पाल्पामा दुइ जना तथा तनहुँ र दाङमा एक-एक जना गरी जम्मा सात जनाको मृत्यु भइसकेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर