पौडेल पक्षको निष्कर्ष- समायोजनका नाममा पार्टी कब्जा गर्न खोजियो – Nepal Press

पौडेल पक्षको निष्कर्ष- समायोजनका नाममा पार्टी कब्जा गर्न खोजियो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको ठहर गरेको छ ।

पौडेल पक्षका नेताहरूको आज बसेको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गरेका थिए । अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए ।

समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङसमेत बैठकमा थिए । बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

‘धेरै जिल्लामा विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र कांग्रेस नै अल्पमतमा पर्ने देखियो । त्यसैले त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढंगले प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

आजै समायोजन समितिको बैठक बस्दैछ भने सदस्यता छानविन समितिले पनि निरन्तर काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर