सुदूरपश्चिम कांग्रेसः ९ जिल्ला सभापतिका लागि ३० बढीको दाबेदारी, कुन जिल्लाबाट को छन् टिकटको दौडमा ? – Nepal Press

सुदूरपश्चिम कांग्रेसः ९ जिल्ला सभापतिका लागि ३० बढीको दाबेदारी, कुन जिल्लाबाट को छन् टिकटको दौडमा ?

कैलाली । नेपाली कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा उम्मेदवार छनोटको सरगर्मी बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको ‘गृहप्रदेश’ भएका कारण पनि यहाँ उम्मेदवार छनोटको चर्चा बढी छ ।

यो प्रदेशका ९ जिल्लामा ३० जना भन्दा बढीले सभापतिमा दाबी प्रस्तुत गरेका छन् । १३ औं महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेता निर्वाचित भएका थिए । दार्चुला, बैतडी र देउवाकै गृहजिल्ला डडेल्धुरामा भने देउवानिकट नेता पराजित भएका थिए ।

अहिले गृहप्रदेशमा उपस्थिति अझै बलियो बनाउन देउवाले चुनाव जित्ने नेतालाई टिकट दिने गरी तयारी थालिरहेका छन् । उता पौडेलका नेताहरू पनि आन्तरिक रुपमा महाधिवेशनको तीब्र तयारी जुटेका छन् ।

कैलालीमा अधिवेशनको सरगर्मी बढी छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा आधा दर्जन बढी नेता सभापतिकोको दौडमा छन् ।

वर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु)ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रोपटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।

त्यसकारण कैलालीले नयाँ सभापति पाउने निश्चित छ । त्यसका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

देउवा समूहमा बम, भट्ट, रावल, चौधरी, बडुवाल र शाहको दाबी छ भने पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ ।

सभापति देउवा गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बलिया नेतालाई सभापतिमा उठाउने योजनामा छन् । त्यसको लागि देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् ।

देउवालाई अहिले पनि वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले काउन्टर दिने योजनामा छन् ।

दुई कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका मल्ल सभापति उठ्न पाउने छैनन् तर उनले सभापति देउवाका उम्मेदवार हराउने नेता खोजिरहेका छन् ।

साउदसँग मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ ।

देउवा टीमबाट रघुवर भट्ट र गोविन्द बोहराले साउदलाई समर्थन गरिसकेका छन् । तर, देउवा समूहबाटै नवलबहादुर मल्लको दाबी पनि कायमै छ ।

कञ्चनपुरमा वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । पदम बोगटी पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । यस्तै, बहादुर सिंह थापाको नाम पनि चर्चामा छ ।

एनपी साउद निकट बोगटी र थापा सभापतिको दौडमा छन् । रमेश लेखक निकट बोहरा पनि सभापतिका आकांक्षी हुन् ।

डोटीमा वर्तमान सभापति प्रदीप देउवा पुनः सभापतिको आकांक्षी देखिएका छन् । उनीबाहेक सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सभापति देउवा समूहका सभापतिका आकांक्षी हुन् ।

अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर पुन सभापति हुने दाउमा छन् । पुष्पबहादुर शाह, मेघराज खड्का र गणेशबहादुर विष्ट पनि सभापतिको दौडमा देखिएका छन् । उनीहरु पनि देउवा निकट हुन् ।

अछाममा पौडेल पक्ष कमजोर देखिएको छ । पौडेल पक्षले बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाल मध्ये एक जनालाई सभापतिको रुपमा उठाउने देखिएको छ ।

बाजुरामा मनबहादुर रावल र कविराज पण्डित सभापतिको दौडमा छन् । रावल पूर्व र पण्डित वर्तमान सभापति हुन् ।

रावल पौडेल र पण्डित देउवा पक्षका हुन् । रामसिंह रावल र प्रेमबहादुर शाही पनि लबिङमा छन् ।

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा पुन सभापति बन्ने दौडमा छन् ।

उपसभापति चतुर बहादुर चन्द र सचिव वीरबहादुर विष्ट भने थापालाई पन्छाएर आफू सभापति बन्ने लाइनमा छन् ।

दार्चुलामा आधा दर्जन नेताहरू सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षको लागि प्रदेशमा सबै भन्दा बलियो जिल्ला दार्चुला हो ।

त्यस्तै ललितसिंह बोहरा, विक्रम धामी, जगदीश पाल, अमर धामी, हर्क विष्ट लगायतका नेताहरूलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।

पौडेल पक्षबाट बोहरा, धामी र बिस्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

बझाङमा हर्कजंग बहादुर सिंह, पृथ्वीबहादुर सिंह, चेतराज बजाल, देवराज शर्मा र जगत जोशीको नाम चर्चामा छ । यस्तै खड्गबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् । उनीहरु देउवा पक्षका हुन् ।

पौडेल पक्षबाट सत्यराज भण्डारी र चन्दा जोशीलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर