निषेधाज्ञा खुकुलो भएपछि खोप लगाउन मुम्बई पुगिन् अदिती !


काठमाडौं । नेपालमा खोप अभियान सुस्त बनेपछि कतिपय व्यक्ति अन्य मुलुकमा पुग्न थालेका छन् । आफ्नो समूहका लागि खोप लगाउन नेपालमा ढिलाइ हुने देखेपछि सेलेव्रिटी पनि दोस्रो मुलुक धाउन थालेको देखिएको छ ।
काठमाडौंको निषेधाज्ञा खुकुलो बनेपछि अभिनेत्री अदिती बुढाथोकी मुम्बई फर्किएकी छिन् । जहाँ उनले बुधबार कोभिड–१९ विरुद्धको खोप लगाइन् । कोरोना महामारीको कारण फिल्म बाबरीको सुटिङ रोकिएपछि अदिती खोप लगाउन मुम्बई हानिएकी हुन् ।
मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर अदितीले कोभिसिल्ड खोप लगाएकी हुन् । आफूले पहिलो डोज खोप लगाएको उनले जनाएकी छिन् । उनले भारतीय खोप अभियानको प्रशंसा समेत गरेकी छिन् ।
फिल्म क्रृ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती स्टारर बाबरी १० दिन छायांकन भएर रोकिएको थियो । उनी लामो समयदेखि मुम्बईमा रहेर मोडलिङ र अभिनयमा सक्रिय छिन् ।