बुधबार २९ सय कोभिड बिरामी थपिए, थप २८ जनाको मृत्यु
मुलुकको संक्रमण दर २६.५ प्रतिशत पुग्यो


काठमाडौं । मुुलुकमा कोरोनाभाइरस संक्रमण दरमा पुनः वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार संक्रमण दर २६.५ प्रतिशत पुगेको छ ।
गतसातासम्म २५ प्रतिशत रहेको संक्रमण दर निषेधाज्ञा खुकुलो भएसँगै उकालो लागेको हो । सबैभन्दा उच्च संक्रमण दर कर्णाली प्रदेशमा ५० प्रतिशत छ भने गण्डकीमा ४० प्रतिशत छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दरमा वृद्धि भएकाले जोखिम पुनः बढेको बताए । उनले सतर्कता अपनाउन जरुरी भएको जनाए ।
बुधबार २९ सय संक्रमित थपिए
पछिल्लो २४ घण्टामा मुलुकमा २९७९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा ५४३ जना संक्रमित थपिएका छन् ।
बुधबार थप २८ जनाको मृत्यु भएको छ । १३३३ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
मुलुकमा बुधबारसम्म सक्रिय संक्रमित संख्या २६ हजार ५४४ पुगेको छ । पछिल्लो साता केही घटेको सक्रिय संक्रमित संख्या पुनः बढेको छ ।