युुसूफ खान कसरी बने दिलिप कुमार : जान्नूस रोचक किस्सा


मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको आज ९८ वर्षको उमेरमा निधन भएको छ । ट्रेजेडी किङको रुपमा परिचित दिलिप कुमारको निधनसँगै उनीसँग जोडिएका केही किस्सालाई उनका फ्यानले भुल्न सक्नेछैनन् ।
यस्तै एउटा किस्सा उनको नामसँग जोडिएको छ । दिलिपको जन्म ११ डिसेम्बर, १९२२ मा तत्कालिन ब्रिटिस इन्डियाको पेशावर (अहिलेको पाकिस्तान)मा भएको थियो ।
उनका मातापिताले उनको नाम युसूफ खान राखेका थिए । सन् १९४४ मा रिलिज भएको फिल्म ‘ज्वाराभाटा’मा फिल्मकी पहिली स्टार देविका रानीले युसूफ खानको नाम दिलिप कुमार राखेकी थिइन् ।
नाम बदल्नेबारे उनले आफ्नो किस्सा दिलिप कुमार : द सब्सटेन्स एन्ड द स्याडोमा उल्लेख गरेका छन् । उनले नाम बदल्नुको कारण भने निकै रोचक छ जुन सुनेर तपाईं मुस्कुराउन सक्नुहुन्छ । अवश्य पनि, पिटाइको डरको कारण उनले नाम बदलेका थिए ।
एक इन्टरभ्यूमा दिलिपकुमारले यसबारे गजबको किस्सा सुनाएका छन् । आफ्नो वास्तविक नाम राखेर अभिनयमा आउँदा आफ्ना बुवाले पिट्न सक्ने भएकाले उनले नाम फेरेर दिलिप कुमार राखेको बताएका छन् । आफ्ना प्रशंसकले आफूलाई युसूफ खान, दिलिप कुमार र बासुदेव राख्न भनिएपनि आफूले मन परेर दिलिप कुमार राखेको उनले जनाए ।