प्रोजेक्ट होपका प्रतिनिधिले भेटे प्रधानमन्त्री, चार्टर उडानमार्फत स्वास्थ्य सामग्री नेपाल ल्याउने जानकारी – Nepal Press

प्रोजेक्ट होपका प्रतिनिधिले भेटे प्रधानमन्त्री, चार्टर उडानमार्फत स्वास्थ्य सामग्री नेपाल ल्याउने जानकारी

रुपन्देही । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवा र अमेरिकास्थित प्रोजेक्ट होपका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर आफ्ना कार्यक्रमबारे जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजया केसीले प्रतिष्ठान स्थापना गर्नुको उद्देश्य र हालसम्म प्रतिष्ठानमार्फत भए गरेका कामको बारेमा जानकारी गराएकी हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराले संस्थाको बारेमा जानकारी गराउँदै कोभिड–१९ विरुद्ध प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले कोभिड–१९ को संक्रमण फैलिएपछि प्रतिष्ठानले नेपाल भारत सीमामा अलपत्र नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन बनाउन प्रतिष्ठानको भवन दिएको बताइन् ।

उनले होल्डिङ सेन्टरका लागि प्रतिष्ठानको भवन परिसर उपलब्ध गराइएको जानकारी दिइन् । क्वारेन्टिनमार्फत ९ महिनाको अवधिमा २५० बढी र होल्डिङ सेन्टरमार्फत २५ हजार बढीलाई सेवा प्रदान गरिएको उनले जानकारी दिइन् ।

प्रोजेक्ट होपको सहयोगमा कोभिड–१९ विरुद्ध लड्न र कोरोनाविरुद्धको खोपसम्बन्धी ५ हजार स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको बताइन् । थाापाका अनुसार तालिम निरन्तर सञ्चालन भइरहेको छ ।

जुलाई महिनाभित्र चार्टर उडानमार्फत अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री नेपाल आउने र त्यसको लागि प्रतिमान–नीमा प्रतिष्ठानले प्रोजेक्ट होपसंग सम्झौता गरिसकेको थापाले बताइन् । उक्त स्वास्थ्य सामग्री नेपालका ७ वटै प्रदेशमा वितरण गरिने उनले जानकारी दिइन् । खोपको लागि समेत प्रतिष्ठानले पहल गरेको उनले बताइन् ।

प्रोजेक्ट होप नेपालको लिड एमेलिया दुकोबस्की प्रतिमान–नीमा स्मृति प्रतिष्ठानसंग दीर्घकालीन समन्वय गरेर नेपाल सरकारलाई सहयोग गर्ने बताइन् । उनले नेपालमा कोरोनाविरुद्धको खोपको अभाव रहेकाले प्रोजेक्ट होपले खोप उपलब्ध गराउन पहल गर्ने बताइन् । उनले कोभिड–१९ विरुद्ध र मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिने जानकारी दिइन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले प्रोजेक्ट होपको सहयोग प्रतिष्ठानको पहलप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी राज्यलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सरकारी अस्पताल तथा कोभिड–१९ विशेष अस्पतालहरुलाई सहयोग जुटाउन सुरु गरेको थियो ।

प्रोजेक्ट होपको सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्री लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पतालहरुमा कोभिड–१९ विरुद्ध लड्नका लागि स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरी प्रतिष्ठानले असार २ गते बुधबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठबाट स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको सुरुवात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर