जंगिए जमकट्टेल- गजुरी होइन धादिङभित्र कतै पनि चार्जिङ स्टेशन राख्न दिन्न (भिडियो) – Nepal Press

जंगिए जमकट्टेल- गजुरी होइन धादिङभित्र कतै पनि चार्जिङ स्टेशन राख्न दिन्न (भिडियो)

धादिङ । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले प्रदेश सरकारले अघि सारेको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले विद्युतीय सवारीसाधन संचालनसम्बन्धी वागमती सरकारको कदमप्रति सार्वजनिक रूपमै आपत्ति जनाए । प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका जमकट्टेलले सो योजनामा अवरोध गर्ने भिडियोसमेत सार्वजनिक भएको छ । आफूसँग नसोधी चार्जिङ स्टेशन राख्न लागिएकोमा धादिङमा राख्न नदिने उनको उद्घोष छ ।

पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौं, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको छ । धादिङ जिल्लाको लागि तोकिएको स्थानप्रति जमकट्टेलको विरोध गरेका छन् । धादिङमा गजुरी गाउँपालिकाको बेल्खुस्थित पृथ्वीराजमार्गको किनारमा स्टेशन बनाउन सरकारले प्रस्ताव अघि सारेको छ । चार्जिङ सेन्टर बनाउन प्रस्ताव गरिएको बेल्खुमा अहिले बालुवा र क्रसर संचालनमा छ ।

सोमबारको अभिव्यक्तिप्रति टिप्पणी बढेपछि जमकट्टेलले समाजिक संजालमा प्रष्टीकरण दिँदै लेखेका छन्, ‘वागमती प्रदेश सरकारले अघि बढाएको विद्युतीय बस खरिद प्रक्रियाभित्र लुकेको रहस्य सबैले बुझेका छन । चार्जिङ स्टेशनलगायतका पूर्वाधारहरू कुन ठाउँ मा हो र कहिले बन्छ कुनै ठेगान छैन । हतार-हतारमा बस खरीद गरेर ल्याऔं र जनकपुरमा रेल त्रिपालले छोपेर राखे जस्तै बस पनि त्रिपालले छोपेर राखुँला, बस नचलेर सरकारलाई केही फरक पर्देन । बस खरिद गर्दा को उद्देश्य त पूरा भइहाल्छ । हामीले पहिला पूर्वाधार बनाऔं अनि बस खरिद गरौं भन्नु गलत हो ?’

प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माण र विद्युतीय सवारी खरिद तथा संचालनका लागि विषयमा छलफल गर्न सोमबार मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकक्षमा सरोकारवालाको बैठक राखिएको थियो । बैठकमा प्रदेशका मुख्यमन्त्री पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता र सांसदहरू उपस्थित थिए ।

यातायात सेवालाई सर्वसुलभ र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी ७ वर्षभित्र ठूला शहरमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी विस्थापित गर्ने प्रदेश सरकारको नीति छ । पूर्वाधारमन्त्री फुयाँलका अनुसार चार्जिङ सेन्टर राख्न इच्छुक स्थानीय तहलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न सूचना जारी गरिएको छ । मूल सडकसँग जोडिएको कम्तीमा तीन रोपनी जग्गा भए थप अध्ययन गर्न सकिने बताएका छन् ।

विभिन्न शहरमा बस सञ्चालनको रुट निर्धारण गरेर बस खरिदका लागि टेण्डर आह्वान गरे पनि माओवादी केन्द्रको विरोधले खरिद प्रक्रिया अघि बढ्नेमा आशंका बढेको छ ।


प्रतिक्रिया

2 thoughts on “जंगिए जमकट्टेल- गजुरी होइन धादिङभित्र कतै पनि चार्जिङ स्टेशन राख्न दिन्न (भिडियो)

Leave a Reply to Bhim Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर