कर्णालीका चार एमाले सांसद पुनर्वहाली प्रकरण- अध्यक्ष ओलीको भ्याकेट निवेदन सर्वोच्चको पेशीमा – Nepal Press

कर्णालीका चार एमाले सांसद पुनर्वहाली प्रकरण- अध्यक्ष ओलीको भ्याकेट निवेदन सर्वोच्चको पेशीमा

काठमाडौं । कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

एमालेका चार सांसद प्रकाश ज्वाला,नन्दसिंह बुढा,अमरवहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उनीहरुमाथि कारवाही गरेको थियो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारवाहीका आधारमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका नेताहरुलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।

केन्द्रीय कमिटीले नगरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको भन्दै अदालतले दिएको अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष ओली भ्याकेटमा गएका थिए ।

अन्तरिम आदेश खारेज गर्ने ओली र प्रदेशसभाको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले अर्को पक्षलाई सूचना दिने भनेको थियो । आज सोही मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा पेशी चढेको छ ।

यसबीचमा एमालेले अदालतको आदेश र पार्टी एकता कायम गर्ने भन्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक समेत राखिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *