एमाले वार्ता टोली आज पनि छलफलमा,सहमतिका बुँदालाई अन्तिम रुप दिने प्रयास – Nepal Press

एमाले वार्ता टोली आज पनि छलफलमा,सहमतिका बुँदालाई अन्तिम रुप दिने प्रयास

काठमाडाैं । नेकपा एमालेको एकताका लागि दुवै पक्षबाट गठित वार्ता टोलीको बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ ।

लगातार दुई दिनदेखि छलफलमा रहेका वार्ता टोलीका नेताहरु सहमति नजिक पुगेका छन् । आज पनि सिंहदरवारमा वार्ता शुरु हुन लागेको स्थायी कमिटी सदस्य तथा वार्ता टोली सदस्य बिष्णु रिमालले जानकारी दिए ।

उनले यसअघि अनौपचारिक कार्यदलले तय गरेको विषयवस्तुमाथि केन्द्रित रहेर छलफल भइरहेको बताए । मंगलवारनै वार्ता टोलीले सहमतिको मस्यौदा तयार पार्ने र अध्यक्ष केपी ओली तथा बरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य आउने भनिएको थियो ।

तर वार्ता टोली निष्कर्षमा पुग्न नसकेपछि संयुक्त वक्तव्य आएन । एमाले वार्ता टोलीको बैठक बसिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेपाल सोमवार विपक्षी गठबन्धनको बैठकमा नगएपछि प्रचण्ड उनलाई भेट्न गएको बताइएको छ । सर्वोच्च अदालतको फैसला आउनुअघि नै एमाले एकता कायम गर्ने प्रयास भइरहेको छ ।

एमालेका सबै संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने र नेकपाकालीन कमिटी तथा व्यक्तिहरुसहितको पार्टी एकता कायम गर्ने सन्दर्भमा छलफल केन्द्रित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर