सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी – Nepal Press
कोरोना कहर

सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी

काठमडौं । केही दिनअघि पर्यटन व्यवसायी ज्योति अधिकारीले ठमेलस्थित आफ्नो होटल ‘होली हिमालय’ भत्काउँदै गरेको फेसबुकमा पोस्ट गरे । क्याप्सन लेखे– हामी छाड्ने क्रममा छौं । हाम्रा छिमेकी बढ्ने ! राज्यले संरक्षण गर्ने नगर्नेको फरक होला यो !

उनको उक्त पोस्टमा धेरै पर्यटन व्यवसायी र पर्यटकले कमेन्ट गरेका छन् । पर्यटन व्यवसायी ठाकुरराज पाण्डे लेख्छन्– प्रत्यक्ष र अप्रत्यक्ष लाखौको संख्यामा रोजगारी दिएको पर्यटन व्यवसायले कराडौंमा सरकारलाई राजश्व बुझाउँदै आएको थियो । अहिले व्यवसायी तड्पिरहेको अवस्थामा राज्यले सस्तो दरमा ऋण उपलब्ध नगराउँदा व्यवसाय छोडेर हिँड्नुको विकल्प छैन ।

अर्का पर्यटनप्रेमी विदेशी शुभचिन्तकको प्रतिक्रिया छ- यो कठिन घडीमा तिमीहरु सबैलाई सम्झिरहेको छु । आशा छ हाम्रो नेपाली घरमा सम्भव भएसम्म छिटै आएर सबै कोठा भर्नेछौं ।

हिजो आफैं डुबेकोभन्दा बढी दुःख अनुभूति भइरहेको छ । जे निर्णय गर्नु भयो सही गर्नुभयो- अर्का पर्यटन व्यवसायी अर्जुन छत्कुलीको कमेन्ट । त्यस्तै व्यवसायी तेज गुरुङ लेख्छन्- मैले ठमेल छाडी नै सकें ।

व्यवसायी ज्योतिको स्टाटस र प्रतिक्रियाहरुले नै प्रष्ट पार्छ कि, अहिले ठमेलका होटल व्यवासायी निकै मारमा छन् । र उनीहरु क्रमशः विस्थापित हुँदैछन् । कोरोना कहर र त्यससँगै भएको लकडाउनले काठमाडौंको ‘पर्यटकीय हब’ ठमेलका अधिकांश पीडा उस्तै छ ।

४ वटा बिल्डिङ रहेको ‘होली हिमालय’मा १ सय १३ वटा कोठा थिए । दैनिक २ सयसम्म पर्यटक बस्थे । तर, कोरोनाका कारण पर्यटक नआएपछि तीन वटा बिल्डिङ घटाएर एउटा मात्रै सञ्चालनमा छ । जसमा ३५ वटा कोठा छन् ।

‘कर्मचारी पाल्न र घरभाडा तिर्नै मुस्किल भयो’, २५ वर्षको होटल संचालन गरेको अनुभव संगालेका अधिकारी भन्छन्’, एक-दुई महिना होइन, वर्षदिन पनि बढी भइसक्यो । होटल घटाउनुको विकल्प नै भएन ।’

कोरोना कहर सुरु हुनुअघि उनको होटलमा ७० जनाले रोजगारी पाएका थिए । होटल नचलेसँगै कर्मचारीको धेरै कर्मचारीको रोजगारी गुमेको छ । ७ करोड लगानीमा सञ्चालित उक्त होटल राम्रोसँग चलेका बेला मासिक १५÷२० लाख रुपैयाँ कमाइ हुने गरेको बताउँछन् अधिकारी ।

कुनै बेला होटलमा महंगो पैसा तिर्दा पनि नपाइने कोठा डेढ वर्षदेखि खाली छन् । ठमेल बजार नै सुनसानप्रायः छ । भाडामा लिएर होटल सञ्चालन गर्नेहरुले भाडा तिर्न सकेका छैनन् । होटलका सबै संरचना र सामान घरवालालाई नै जिम्मा लगाएर हिँड्न थालेका छन्, ठमेलका व्यवसायी ।

धेरैजसो विदेशी पर्यटनको चहलपहल भइरहने ठमेलका होटल व्यवसायी मात्रै होइनन्, अरु जुनकुनै व्यवसाय सञ्चालन गरेकाहरुको स्थिति दयनीय छ । कतिले त व्यापार व्यवसायह छाडिसके भने कति छाड्ने मुडमा पुगेका छन् ।

भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन मात्रै होइन, आफूले खान र परिवार पाल्न नै धौधौ भएपछि व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका हुन् ।

‘ठमेलको भाडा एकदम महंगो छ, पर्यटक नआए पनि घरधनीले भाडा छुट दिँदैनन्’ होटल एसोसिएसन संघका महासचिव साजन शाक्य भन्छन्, ‘भाडा तिर्न नसकेकै कारण धेरै होटल व्यवसायी विस्थापित भएका छन्, कतिपय विस्थापित हुने स्थितिमा पुगेका छन् ।’

ठमेल विदेशी पर्यटकसँग सिधा सम्बन्ध राख्ने एतिहासिक ठाउँ भएकाले पनि यहाँका सरकारले व्यवसायीलाई संरक्षण गर्नुपर्ने उनी बताउँछन् । केही होटललाई क्वोन्टाइन बनाएपछि व्यवसायी हल्का राहत मिले पनि त्यसले व्यवसायी टिक्नसक्न स्थितिमा नभएको उनको भनाइ छ ।

होटल व्यवसायीसँगै ठमेलका घरधनीलाई पनि समस्या परेको छ । टिम्बर हाउसका संचालक राजेन्द्र अमगाईंका अनुसार व्यवसायीले भाडा तिर्न नसकेपछि धरधनी पनि मर्कामा परेका छन् ।

कोरोनाको तेस्रो भेरियन्टको चर्चा भइरहेप्रति चिन्ता गर्दै उनी भन्छन्- यस्तै स्थिति रहे ठमेलको पर्यटन व्यवसाय लयमा फर्कन अझै केही वर्ष लाग्छ । त्यसो हुँदा धेरै व्यवसायी विस्थापित हुने निश्चित छ ।


प्रतिक्रिया

One thought on “सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी

  1. सज्जन घरमालिकहरुले भाडालाई ठुलो issue वनायको देखिदैन! मुल समस्या राज्य व्यवसायिमैत्रि नहुनुनै हो! जो जांहा छ त्यहि रहन, पुरानो चहलपहल को अवस्थामा गन्तव्य र ब्यवसाय नफर्के सम्म सबै संझैता र आर्थिक वोझलाई शुन्यमा राख्न, गणनागर्न सकेके भय यो अवस्था हैन, चहल पहलको उन्नत अवस्थाको तयारिमा हामी हुने थियौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर