सुनिचौरबासीको पीडा सुनिदिने कोही छ ? (फोटो/भिडियो) – Nepal Press
सुनिचौरबासीको पीडा सुनिदिने कोही छ ? (फोटो/भिडियो)
दिनेश थापा २०७८ असार २३ गते १०:१९
२०७८ असार २३ गते १०:१९

सिन्धुपाल्चोक । बाँसको चित्राले वरिपरि बेरिएको अस्थाई आवासको एक छेउमा फलामे चुल्होको अँगेनो छ ।

छेउमा लहरै राखिएका छन् भाँडावर्तन । नजिकै सुकाएर राखिएका छन् साना बच्चाका कपडा । गोठको साँघुरो कुनामा आलु यत्रतत्र छरिएका छन् । सँगै बाँसको चित्रा ओच्छ्याइएको छ ।

चित्रामाथि पातलो चाइनिज ब्ल्याङ्केट ।

चुल्होको छेउमै बसिरहेकी छन्, मीना तामाङ । काँखमा सात महिनाको दूधे बालकलाई फकाइफुल्याइ गरिरहेकी छन् । सामुन्यमा दुई नाबालक छोरी एकोहोरो आमाको मुखमा हेरिरहेका छन् । मीनाका श्रीमान् हेलिकोप्टेरमा राहत आएको थाहा पाएपछि उतै लागेका थिए ।

मीनाको परिवार अस्थाइ गोठभित्र यसरी बसेको पनि २२ दिन बितिसक्यो । गोठमूनि निरन्तर बगिरहने याङग्री खोला अनि गोठमाथि डरलाग्दो भीर । यही डर र कष्टपूर्ण ढंगले उनीहरूको दैनिकी बितिरहेको छ ।

१ असार । त्यो दिन सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु पाँचपोखरी थाङपाल गाउँपालिकाको लागि कालो दिन हुन पुग्यो । अविरल वर्षासँगै मेलम्ची नदी उर्लेपछि नदी आसपासका बस्ती नै सखाप पार्‍याे ।

बाढीले याङरी,लार्के र इन्द्रावती उर्लेर आउदा पाँचपोखरी थाङपाल गाउँपालिकाको सडक सम्बन्धसमेत टुट्यो । र, सुनिचौरका १७ घरपरिवार विस्थापित भए । त्यही मध्येकी एक हुन् मीना । उनको बाढीले न घर रह्यो न, खेतबारी । उसो त घरबाट केही पनि निकाल्न नपाउँदाको पीडाले उनलाई पोलिरहन्छ ।

वस्तीमा त्यहाँ अहिले विद्युत छैन । फोन सम्पर्क छैन । ‘हेलिकोप्टेरबाहेक यहाँ खाद्यान लगायत राहातका सामग्री लैजानका अरु कुनै विकल्प छैन,’ वडा अध्यक्ष पासाङ तामाङ सुनाउँछन् ।

अर्की बाढीपीडित माइली तामाङ त्यो दिन सम्झँदा भक्कानिन्छिन् । ‘हामी डरैडरमा बाच्यौं । बाढी गएपछि खानका लागि केही पनि थिएन । उद्धार र राहतको लागि मानिसहरू आउँदा भगवान आएजस्तो भयो,’ उनी सुनाउँछिन् ।

कर्मायान्चेन तामाङ खोलाले आफ्नो बगाएको आफ्नो जायजेता सम्झँदै सुँक्सुकाउँछिन् । ‘दुःखले बनाएको घर र अलि अलि भएको अन्नपात/लुगाफाटा पनि सबै बगायो,’ उनी दुःखेसो पोख्छिन् ।

सुलिचौरका १७ परिवार अहिले एक्लिएका छन् । एक सय घर पूर्ण क्षति र पाँच सय जना विस्थापित छन् ।

गाउँपलिका अध्यक्षको टोलीले केही खाद्यान, टेण्ट र पाल लगिदिएपछि अहिले जसोतासो पीडितहरूले रात काटिरहेका छन् ।

५ सय बिस्थापित
असार १ गतेको बाढीले याङरी खोलाको बाढीले पाँचपोखरी थाङपाल गाउँपालिकाको याङरी,दलित बस्ती,सुचनौर,छोटुक्पा,मैयाखर्क लगायतका बस्तीका स्थानीयका घरखेत बगाएको छ ।

त्यस्तै लार्के खोलाले लार्के,काजीबगैचा, लगायतका बस्तीमा क्षती पुर्याएको छ ।
दुवै नदि मिसिएपछिको इन्द्रावती खोलाले चिलाउनेको महाकाल, लर्काे बेसी तिपेनी लगायतका बस्तीमा ठुलो समस्या बनाएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए ।

प्रत्यक्ष रुपमा सय परिवार बिस्थापित भएका छन् तर सडक सम्बन्ध टुटेपछि ६\७ सय परिवार नै समस्यामा रहेको अध्यक्ष लामाले बताए ।
हामी अहिले सबै सडक सञ्जालबाट टाढिएका छौ,विकट बस्तीमा हेलिकोप्टरबाहेक अन्य कुनै पिकल्प नै छैन उनले भने–‘स्थानीय सरकारले मात्रै सबै गर्न सकिएला जस्तो छैन ।’ हामी विपदमा छौ,ममानवीय क्षती छैन तर हामीलाई असार १ ले सधै सधैका लागि नमिठो प्रहार गरेको छ अध्यक्ष लामाले भने ।

विपदमा स्थानीय र केन्द्र सरकारको समन्वय

बाढीले सडक, विद्युत र टेलिफोन सम्र्पक सबै टुटेपछि त्यसको भोलिपल्ट वडा अध्यक्ष पासाङ फिल्डमा खटिए । गाउँपालिका अध्यक्ष टासी लामा पनि राहातसहित त्यहाँ पुगिसकेका छन् । स्थानीय तहले सक्दो सहयोग गरिरहेको पीडित परिवारहरू त बताउँछन् । तर त्यो पर्याप्त पटक्कै छैन ।

विस्थापितहरूको बस्तीमा खाद्यान लगायत अन्य सामग्री लैजान कठिन भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेनाको हेलिकोप्टर लग्यो । सोही हेलिकोप्टरमार्फत् सगरमाथा आरोही माया गुरुङ लगायतको समूहले दिएको ७ सय थान जस्तापात लिएर प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ सहितका सरकारी टोली सुनीचौर पुगेका थिए ।

विस्थापित बस्तीमा पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेलले आश्वासन दिएका त छन्- ‘कोही भोकै बस्नु पर्र्दन । समस्या भए जानकारी गराउनुस् ।’

तर, यो आश्वासनले सुनीचौरबासीको अभावमा मेटिनेवाला छैन । एक पोका राहत र एउटा टेण्टले उनीहरूको जीवन चल्नेवाला छैन । उनीहरूको घाउ पुरिनेवाला छैन । उनीहरूको डर मेटिनेवाला छैन ।

आकाशमा हेलिकोप्टर देख्यो कि आशाको नजर डुलाउने सुनिचौरवासी यतिबेला उद्धारको पर्खाइमा छन् । उनीहरूको निराशा भरिएको मुद्राले एउटै कुरा भनिरहेको छ- हाम्रो पीडा कसले सुनिदिन्छ ?