तानातानमा गगन, कसलाई देलान् वचन ? – Nepal Press
कांग्रेस नेतृत्वका चर्चित प्रत्याशी- १

तानातानमा गगन, कसलाई देलान् वचन ?

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै गर्दा धेरैको नजर भावी सभापतिको प्रतिस्पर्धामा केन्द्रित छ । कांग्रेस सभापतिका लागि ९ जना नेताहरुले आकांक्षा देखाइसकेका छन् ।

अहिलेसम्म दावी गरेका आधारमा हेर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र कल्याण गुरुङ सभापति दौडमा सामेल भइसकेका छन् ।

सभापतिपछि कांग्रेसमा शक्तिशाली पद हो महामन्त्री । कांग्रेस महाधिवेशनले एक सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित गर्दैछ । यी पदहरूमा हुने प्रतिस्पर्धाको सम्पूर्ण चित्र प्रष्ट भइसकेको छैन । यद्यपि, केही नामहरू चर्चामा छन् । सभापतिबाहेक पदाधिकारीका आकांक्षीको संख्या कम्तीमा ३ दर्जन पुग्ने देखिन्छ । यीमध्येका एक हुन् गगन थापा, जसले दोस्रोपटक महामन्त्रीका लागि उम्मेदवारी दिने प्रबल सम्भावना छ ।

कांग्रेसको अघिल्लो महाधिवेशनमा पदाधिकारीतर्फ सभापति, एक महामन्त्री र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो । देउवा, पौडेल र सिटौला टिम नै बनाएर मैदानमा उत्रिदा महामन्त्रीमा डा. शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापाले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीले प्रतिस्पर्धा गरेका थिए । विधान संशोधनपछि कांग्रेसमा निर्वाचित पदाधिकारीको संख्या बढेको छ । यहीकारण केन्द्रीय सदस्यको भूमिकामा रहेका अधिकांश नेताहरु पदाधिकारी बन्न इच्छुक छन् । यद्यपि सभापतिकै अन्तिम उम्मेदवार को हुने भन्ने तय नहुँदासम्म पदाधिकारीको उम्मेदवार टुंगो लाग्ने देखिँदैन ।

गगन थापा नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपाली राजनीतिकै चर्चित पात्र हु्न् । उनलाई क्षमतावान र बौद्धिक नेताको रूपमा समर्थकहरुले चित्रण गर्ने गर्छन् । उनी प्रखर वक्ता पनि हुन् । प्रतिनिधिसभाभित्र प्रतिपक्षी भूमिकामा कांग्रेस छ भन्ने आभास गगन थापाले नै गराएका थिए ।

सभापतिमा दावी गरेका अधिकांश नेताले सन्तुलित टिम बनाउने दावी गर्दै आएका छन् । पदाधिकारीमध्ये पनि महामन्त्रीमा सबैको चासो छ । यही चासोको बीच सबैको तानातानमा परेका छन् गगन । अघिल्लो महाधिवेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरेका उनले ५ सय ८४ मत प्राप्त गरेका थिए । सिटौलाको टिमबाट महामन्त्रीमा पराजित भए पनि त्यसयता गगनले आफूलाई संस्थापनइतर समूहको साझा नेता बनाउन प्रयास गरिरहेका छन् ।

आसन्न महाधिवेशनमा सभापतिमा जो-जो उम्मेदवार भएपनि महामन्त्रीमा गगनको दावेदारी र चर्चा बढी छ । अघिल्लो महाधिवेशनमै महामन्त्रीमा लडिसकेको, पार्टीभित्र आफ्नै समूह भएको र जनमत प्रभावित पार्नसक्ने क्षमता भएका कारण सभापतिका दावेदारहरु गगनलाई आफ्नो समूहमा तान्न प्रयासरत छन् ।

गुटहरूको तानातान

१३ औं महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने गगनको प्रयासलाई धेरैले सामान्य रूपमा लिए । कतिपयले टिममा नपरे महामन्त्री लड्न गगनले हिम्मत नगर्ने समेत बताए । अन्तिममा वीपीपुत्र डा.शशांक कोइराला र आफ्नै ससुरा अर्जननरसिंह केसीविरुद्ध गगनले उम्मेदवारी दिए ।

कोइराला पौडेल नेतृत्वको टिमबाट, केसी देउवाको टिमबाट र गगन सिटौलाको टिमबाट मैदानमा उत्रिएका थिए । शशांक १ हजार ४ सय १७ मत ल्याएर बिजयी हुँदा केसीले १ हजार १७ र थापाले ५ सय ८४ मत ल्याएका थिए ।

महामन्त्रीमा प्रतिस्पर्धा गरिसकेका कारण गगनले यसपटक त्योभन्दा तलको आकांक्षा राख्ने छैनन् । उम्मेदवारीको औपचारिक घोषणा नगरे पनि उनले महामन्त्रीकै लागि तयारी अगाडि बढाएका छन् । सभापतिमा दावी गर्ने देउवादेखि डा. शेखर कोइरालासम्मले गगनलाई आफ्नो टिममा महामन्त्री बन्न प्रस्ताव गरिसकेको बुझिएको छ ।

वरिष्ठ नेता पौडेल, उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहसँग पनि गगन निरन्तर संवादमा छन् । आफ्नै समूहका नेता सिटौलाले पनि हालै गगनलाई आफू सभापतिमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । सभापतिमा दावी गरिरहेका शेखरले त सार्वजनिक रुपमै गगनलाई महामन्त्री बनाएर अन्य युवालाई पनि समेटेर जान तयार रहेको बताए । सबै नेताले आफ्नो टिममा राख्न खोजे पनि गगन भने खुल्न बाँकी नै छ ।

‘हुन त उहाँको आफ्नै टिम छ । तर यसपटक संस्थापनइतर समूहभित्र एकताको खाँचो भएकाले उहाँ आफू उम्मेदवार बन्नेभन्दा पनि सभापतिका उम्मेदवारहरुबीच सहमति जुटाउन सक्रिय हुनुहुन्छ’, गगननिकट एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनको चर्चा चुलिएयता सभापतिका सबैजसो दावेदारसँग गगनले छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

राजनीतिक विश्लेषक जुगल भूर्तेल कांग्रेसमा गगनको भूमिका बढोत्तरी होस् भन्ने चाहना बढ्दै गएको बताउँछन् ।

‘गगनजीले आन्दोलनदेखि संसद हुँदै सरकारमा समेत आफूलाई प्रमाणित गर्नुभएको छ । तुलनात्मक रूपमा पार्टीभित्र र बाहिर धेरैले नेतृत्वमा देख्न चाहेको नेता भएकाले यो महाधिवेशनमा उहाँको भूमिका निर्णायक देखिन्छ’, भूर्तेलले नेपाल प्रेससँग भने ।

भुर्तेलका अनुसार परम्परागत संगठन र इतिहासले मात्रै अब कांग्रेसलाई प्रतिफल दिन सक्दैन । त्यसका लागि पार्टीभित्र र बाहिर रहेका ‘डेमोक्रेट’ लाई तान्न सक्ने नेतृत्व पनि चाहिन्छ ।

गगनका आलोचकहरूको पनि देशमा कमी छैन । एमसीसी सम्झौता, नागरिकता विधेयक जस्ता राष्ट्रियतासँग जोडिएका मुद्दाहरूमा मौनता साँध्ने गरेको आरोप उनीमाथि छ ।

‘मुलुकका लागि कांग्रेसको भूमिका बढेजस्तै कांग्रेसभित्र कार्यकर्ता मात्रै होइन मतदातासमेत आकर्षित गर्नसक्ने नेतृत्वको खाँचो छ । त्यस्तो भूमिका गगनजी र उहाँको पुस्ताका नेताहरुले निर्वाह गर्नसक्नुपर्छ,’ भूर्तेलले भने ।

गगनको सभापति को ?

महामन्त्रीका दावेदार गगन कसको टिमबाट प्रतिस्पर्धामा उत्रिएलान् ? कांग्रेसवृत्तमा यो चासो गर्माएको छ । राजनीतिकरूपमा कांग्रेसको वर्तमान संस्थापनसंग गगनको निकटता कम छ । यद्यपि देउवा र निधि दुवै गगनको ‘आवश्यकता’ बारे जानकार छन् ।

प्रत्यक्ष-अप्रत्यक्ष रूपमा दुवै नेताले ‘सँगै जान’ गगनलाई प्रस्ताव गरेकै छन् । अघिल्लो महाधिवेशनमा सहकार्य नभए पनि पार्टीको आन्तरिक ध्रुवीकरणमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्रीद्वय सिंह र सिटौला तथा नेता शेखर कोइरालासंग गगनको सहकार्य हुँदै आएको छ ।

अहिलेसम्म सभापतिका कोही पनि प्रत्याशीलाई वचन दिइनसकेका गगन संस्थापनइतर समूहलाई एकताबद्ध बनाउने प्रयासमा छन् । तर, त्यो सम्भावना झिनो भएकाले महाधिवेशनको तिथि नजिकिँदै गर्दा आफ्नो कित्ता क्लियर गर्न गगनलाई दबाब छ ।

सवल र दुर्वल पक्ष

गगन थापा नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपाली राजनीतिकै चर्चित पात्र हु्न् । उनलाई क्षमतावान र बौद्धिक नेताको रूपमा समर्थकहरुले चित्रण गर्ने गर्छन् । उनी प्रखर वक्ता पनि हुन् । प्रतिनिधिसभाभित्र प्रतिपक्षी भूमिकामा कांग्रेस छ भन्ने आभास गगन थापाले नै गराएका थिए ।

विद्यार्थी राजनीतिदेखि नै उनले एक किसिमको सेलिब्रिटी छवि निर्माण गर्न सफल भए । कांग्रेसभित्र गणतन्त्रको नारा पहिलोपटक घन्काउने युवा नेताहरुमध्ये एक हुन् उनी । राष्ट्रिय राजनीतमिा छिटो राइजमा आए पनि कांग्रेसभित्र उनले गतिलो भूमिका अहिलेसम्म पाउन सकेका छैनन् । सार्वजनिक ओहदाको कुरा गर्दा एकपटक स्वास्थ्यमन्त्री भए, तर छोटो कार्यकाल भएकाले उनले ‘फुल पफर्मेन्स’ दिन पाएनन् ।

गगनका आलोचकहरूको पनि कमी छैन । एमसीसी सम्झौता, नागरिकता विधेयक जस्ता मुद्दाहरूमा मौनता साँध्ने गरेको आरोप उनीमाथि छ । भीड जहाँ छ आफूलाई त्यहीँ उभ्याउन चाहने उनको शैलीको पनि आलोचना हुने गर्छ । सामाजिक सञ्जालमा कांग्रेसविरोधिबाट सबैभन्दा बढी निशानामा पर्नेमध्ये पर्छन् गगन ।

गगन भन्छन् – उपयुक्त समयमा निर्णय लिन्छौं

महाधिवेशनमा प्रतिस्पर्धाबारे उपयुक्त समयमा निर्णय लिने गगनले प्रतिक्रिया दिएका छन् । महाधिवेशन केन्द्रित छलफल भर्खरै शुरू हुन थालेकोले भावी नेतृत्वको चित्र प्रष्ट हुन अझै केही समय लाग्ने उनको भनाइ छ ।

‘मैले सबै नेताहरूसँग छलफल गरेको कुरा सत्य हो । अहिले नै समीकरण के बन्छ भन्ने तय भएको छैन । यसपटक मजस्ता धेरै साथीहरुलाई चासोका साथ हेरिएको छ । हामीमाथि गरिएको अपेक्षामा आघात नपुग्ने गरी उपयुक्त समयमा निर्णय लिनेछौं,’ उनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर