‘मल्टिपोलार’ विश्व व्यवस्थातर्फ चीनको यात्रा, विदेश नीतिमा आउला परिवर्तन ?
१६० मुलुकका राजनीतिक दलसँग सीको भर्चुअल संवाद

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वर्षगाँठ अवसरमा विहिबार आयोजित समारोहमा बोल्दै राष्ट्रपति तथा पार्टी महासचिव सी जिङपिङले पश्चिमा ‘बुलिङ’ नसहने चेतावनी दिए । बुलिङ कायमै रहे १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै उभिएर प्रतिरक्षा गर्ने सीको भनाई थियो ।
समाजवादले मात्र चीनलाई जोगाउन सक्ने र चिनियाँ विशेषतासहितको समाजवादले मुलुकको विकास गर्ने उनको अभिव्यक्ति थियो । उनले भनेका थिए, ‘हामी कसैलाई पनि दमन र नियन्त्रणको मौका दिँदैनौं ।’ उनको यस्तो आक्रामक अभिव्यक्तिलाई अमेरिका लक्षित मानिएको छ, किनभने पछिल्लो समय यी दुई ठूला महाशक्तिबीच महामारी, व्यापार र जासुसी विषयले सम्बन्ध सङ्लो छैन ।
तियानमेन स्क्वायरमा उपस्थित ८० हजार सहभागी अघि उभिएर बोलेका सीको सम्बोधनमा चिनियाँ इतिहासप्रति अनुराग थिएन, बरु भविष्यप्रति आशा प्रस्तुत थियो । सन् २०१३ मा सत्तामा आएका सी जिङपिङको अभिव्यक्तिलाई चीन विश्व राजनीतिमा अझै सक्रिय हुन खोजेको रुपमा विश्लेषकहरु औंल्याउँछन् । ‘यो स्वभाविक हो’ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि डा. जयराज आचार्यले नेपाल प्रेससँग भने ।
सीको एकसय वर्षगाँठ सम्बोधनले चीनको विदेश नीति अझै आक्रामक बन्न सक्ने तथा विश्वको शक्ति सन्तुलन बाइपोलारबाट मल्टिपोलार (बहुध्रुवीय) बन्न सक्ने आंकलन गर्न सकिन्छ । एक महिनाभित्रै ८० देशमा आफ्नो देशमा निर्मित खोप आपूर्ति गर्नु, सयौं वर्षगाँठको अवसरमा विश्वका डेढ सय मुलुकका प्रमुख राजनीतिक दलसँग भर्चुअल संवाद गर्नु, अन्तरीक्ष, व्यापार, स्वास्थ्य लगायतका क्षेत्रमा आक्रामक भएर अघि बढ्नुले सीको चिनियाँ कम्युनिष्ट पार्टीको कम्पास भविष्यमा कतातर्फ सोझिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
खैरो सुट लगाएर अमेरिकालार्ई सन्देश
माओत्से तुङपछि आधुनिक चीनका सबैभन्दा शक्तिशाली नेता सी जिङपिङले तियानमेन सम्बोधनमा खैरो सुट पहिरिएका थिए, जुन पहिरन चिनियाँ पोट्रेटमा माओले लगाएको देख्न सकिन्छ । कहिलेकाहीँ राजनीतिमा पहिरनले पनि अर्थ राख्छ । सीले सम्बोधनमा भनेको एउटा कुरा निकै शक्तिशाली छ : चिनियाँ जनताले नयाँ विश्वको सिर्जना गरेका छन् । यो एक लाइनभित्र आगामी चीनको स्पष्ट बाटो लुकेको छ । यसका लागि उनले पार्टीको योगदान उच्च रहेको मात्र बताएनन्, पार्टीले आगामी दिनमा निर्वाह गर्नुपर्ने युगिन दायित्वलाई पनि व्याख्या गरे ।
तियानमेन सभाको आखिरीतिर एउटा गीत गाइएको थियो । गीतको बोल थियो : कम्युनिष्ट पार्टीबिना नयाँ चीन सम्भव छैन ।’ राष्ट्रपति सीले पनि आधुनिक चीन निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको योगदानको चर्चा उक्त सम्बोधनमा गरेका थिए । मुख्यतः सीको उक्त सम्बोधनको सार अमेरिकासहित उसका साझेदारलाई स्पष्ट सन्देशको रुपमा लिन सकिन्छ । ताइवान, हङकङ र सिन्जियाङमा अमेरिका र बेलायतले आरोप लगाएजस्तो मानवअधिकार उल्लंघनको विरुद्ध पनि सी खनिएका थिए ।
अमेरिकी राष्ट्रपतिमा अघिल्ला ट्रम्पभन्दा केही नरम मानिएका जो बाइडेन आएपछि चीनसँग सम्बन्ध सुधारको अपेक्षा थियो । तर, बाइडेनले तत्काल चिनियाँ कम्पनीहरुलाई लगाइएको प्रतिबन्ध खुला नगर्ने, चिनियाँ पूर्वाधार योजना बीआरआईलाई चुनौति दिने गरी बीथ्रीडब्लु प्रस्ताव गर्ने र चीनलाई घेर्ने लगायतका विदेश नीति अघि सारेपछि चीन-अमेरिका सम्बन्ध थप टकरावको दिशातर्फ उन्मुख छ ।
के भन्छन् नेपाली जानकार ?
नेपालका विश्लेषकहरु चिनियाँ उद्देश्य बहुधु्रवीय विश्व निर्माण गर्ने भए पनि अमेरिकासँग थप प्रतिस्पर्धा चुलिँदै जाने भएपछि दुईध्रुवीय बन्न सक्ने बताउँछन् । चीन मल्टिपोलार वल्र्ड अर्डरतर्फ अघि बढिरहेको उनीहरुको भनाई छ ।
चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्की भन्छन्, ‘अब चीन भर्सेस अमेरिकाको विश्व व्यवस्था हुन्छ जस्तो लाग्दैन । चीन आफू मात्र नभएर अन्य उदियमान मुलुकलाई पनि कदर गरेर अघि बढ्नेजस्तो देखिन्छ ।’ राजनीतिशाष्त्रका जानकार तथा भारतका लागि पूर्वनेपाली राजदूत लोकराज बराल सन् २०१३ मा सी सत्तामा आएपछि चीनले सक्रिय कूटनीति अगाडि बढाएको बताउँछन् ।
‘अबको विश्व मल्टिपोलार नै हुने हो । अझै पनि अमेरिका पहिलो शक्तिशाली मुलुक छ । बहुधु्रवीय हुनुपर्छ भन्ने चिनियाँ चाहना भए पनि बाइपोलार हुनै पनि केही समय लाग्छ,’ बराल भन्छन्, ‘सय वर्ष पुगेको अवसरमा सीको स्पिच पनि पश्चिमाहरुलाई एउटा स्पष्ट सन्देश हो ।’ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि डा. जयराज आचार्य चाहिँ बाइपोलार भएर विश्व अघि बढ्ने बताउँछन् । सी जिङपिङको तियानमेन सम्बोधन स्वभाविक भएको उनको भनाइ छ ।
आचार्य भन्छन्, ‘हिजोसम्म निदाइरहेको शक्ति अहिले ब्युँझिएको छ । यो स्वभाविक नै हो । अबको विश्व चीन भर्सेस अमेरिका भएर अघि बढ्न सक्छ ।’ अबको विश्व व्यवस्था बनाउन चीनले विन–विन फिलोसोफीको कुरा गर्न थालेको कार्कीले बताए ।
‘चिनियाँ इतिहास हेर्दा चंगेज खाँकै पालामा युरोपसम्म पुगेको चीन त्यसपछि खुम्चिएर जहाँको तहीं आइपुग्यो । विस्तारवादतर्फ लागेको देखिएन,’ उनी भन्छन्, ‘चीन विस्तारवाद मात्र हैन, समाजवादको मोर्चा बनाउन पनि लागेको देखिँदैन । दोस्रो विश्वयुद्धपछि चीन अमेरिकाजसरी मोर्चा बनाउन पनि लागेन ।’ उनका अनुसार बीआरआईकै प्रोजेक्ट पनि चीनले सबै मुलुकलाई लाभ हुने किसिमले ल्याएको छ । ‘हिजोको शीतयुद्धको आँखाबाट अब हेर्नुपर्छजस्तो लाग्दैन’ उनी भन्छन् ।
चिनियाँ विदेश नीति आक्रामक बन्ला ?
अवश्य पनि, सन् २०१३ मा सत्ता सम्हालेयता सी जिङपिङको चीनले सक्रिय कूटनीतिलाई अघि बढाइरहेको छ । खासगरि कोरोना महामारी सुरु भएपछि चीनले एकैपटक राजनीतिक, आर्थिक र हेल्थ डिप्लोमेसीलाई अघि बढाइरहेको छ । जुन महीनामा मात्र चीनले ८० देशमा खोप आपूर्ति गर्यो । भारत र अमेरिकाको खोप कूटनीति असफल भएपछि सिर्जना भएको रिक्तताको पूर्ति चीनले गरिदियो । आफ्नो विदेश नीतिलाई खोपको सफ्ट-पावरमार्फत अघि बढाउने लाभ पनि चीनले उठाइरहेको छ ।
यस्तोमा, के चिनियाँ विदेश नीति आक्रामक ढंगले अघि बढ्ला त ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र कूटनीतिज्ञहरु चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष पुगेको अवसरमा राष्ट्रपति सीले गरेको सम्बोधन त्यसकै एउटा संकेतको रुपमा बुझ्नुपर्ने बताउँछन् । ‘अब चिनियाँ विदेश नीति मल्टिपोलार विश्व बनाउनेतर्फ अघि बढ्नसक्छ । सीको सम्बोधनको त्यसको एउटा झिल्को हो,’ कार्कीले भने, ‘किनभने चीन बाइपोलार बनाउने पश्चिमा मुलुकको हर्कतविरुद्ध छ ।’
तर, आचार्य चाहिँ चीनको विदेश नीतिमा तत्काल कुनै परिवर्तन नआउने बताउँछन् । ‘चीनको वैदेशिक नीतिमा निकट भविष्यमा परिवर्तन आउने देखिँदैन’ उनी भन्छन्, ‘यसमा निरन्तर परिवर्तनभन्दा निरन्तरता बढी हुन्छ ।’ राष्ट्रसंघका लागि पूर्वराजदूत आचार्यको तर्कमा बराल सहमत छन् । उनी भन्छन्, ‘चिनियाँ विदेश नीतिमा तत्काल बदलाव नआउला ।’
सीको सम्बोधन पश्चिमा मुलुकलाई सन्देश भएको र सोही अनुसार विदेश नीति अघि बढ्ने बराल बताउँछन् । ‘सीको स्पिच पनि घुमाउरो ढंगले आएको छ, जसमा अमेरिकालाई हामी सहँदैनौं भन्ने कुरा हो । चीन विश्व राष्ट्र हुने दौरानमा यो कुरा उठेको छ’ बराल भन्छन् ।
सी जिङपिङको भर्चुअल सम्बोधनको अर्थ
चिनियाँ राष्ट्रपति तथा सीपीसी महासचिव सीले सय वर्षगाँठको अवसरमा नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेतालाई मंगलबार बेइजिङबाट सम्बोधन गर्दैछन् । उक्त भर्चुअल कार्यक्रमको मुख्य विषय ‘जनताका लागि खुशी : राजनीतिक पार्टीको दायित्व’ छ जसमा ५ सयभन्दा बढी राजनीतिक दलका नेताले सहभागिता जनाउनेछन् ।
महामारी सुरु भएयता चीनले सार्क, बिमस्टेक, प्रशान्त क्षेत्रीयसहित विश्वका विभिन्न मञ्च र तिनका सदस्य मुलुकसँग भर्चुअल छलफल गरेको छ ।
‘सय वर्ष पुगेको अवसरमा चीनले सफलता र शान्तिको विषयमा चिनियाँ मोडलका अनुभवहरु बाँड्न खोजेजस्तो लाग्छ । अन्य मुलुकबीच सहकार्य गर्दै अघि बढ्न खोजेको हुनसक्छ,’ पूर्वराजदूत कार्की भन्छन्, ‘किनभने यो उपलब्धी उनीहरुको पार्टीको कारणले भएको हो । उनीहरु यसबारे जानकारी गराउन चाहन्छन् ।’
नेपालले चीन लगायतका मित्रराष्ट्रसँग सम्बन्ध बनाउन र फाइदा लिन पहिले आफना घर बलियो बनाउनुर्ने प्राध्यापक बरालको भनाई छ । ‘नेपालले पहिले आफ्नो घर बलियो बनाउनुपर्छ । भाषणबाजीले केही हुन्न,’ उनको भनाई छ । नेपालले अझै कूटनीतिक दक्षता वृद्धि गर्नुपर्ने सुझाव नेपाली कूटनीतिज्ञहरुको छ ।