सर्वोच्चको आदेश उल्लङ्घन गर्नुहुन्न, भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन: मेयर शाक्य – Nepal Press

सर्वोच्चको आदेश उल्लङ्घन गर्नुहुन्न, भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन: मेयर शाक्य

‘उम्मेदवार हुँदा हामीले भित्तोमा प्रचार गरेनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन् ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’

शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’

‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’
उनले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारे । ‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,’ मेयर शाक्यले भने, ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’
काठमाडौं महानगले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको छ ।
उनले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराए । ‘स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सरकारी र सामूदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ,’ उनले भने, ‘काठमाडौँ महानगर क्षेत्र भन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने कार्य गरेको छ । त्यसैले हामीले कसरी उहाँहरुको सम्मानमा आघात पुग्ने काम गर्यौँ ?’

‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’
चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकुल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भने, ‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ नि? हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौँ महानगरपालिकाकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’

मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो नगरसभाले नै सर्वसम्मत रुपमा काठमाडौँ महानगरपालिकाको नारा ‘साँस्कृतिक शहर काठमाडौँ महानगर’ तय गरेको पनि स्मरण गराए। ‘उक्त नाराले पनि काठमाडौँ सहरलाई साँस्कृति शहरका रुपमा विकास गर्नुपर्ने हुन्छ,’ शाक्यले भने, ‘आफु खुशी जे–पाये त्यहि गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।’

उनले आफु मेयर निर्वाचितपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराए । ‘संघीय र प्रदेशसभाको निर्वाचन हुँदा म काठमाडौँ महानगरपालिकाको मेयर थिएँ,’ उनले भने, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका निर्वाचनमा समेत त्यस्तो कार्य गर्न निधेष थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निधेष गरिएको भएर नै नदिएको हो, नगरेको हो । आगामी निर्वाचनमा पनि ती कार्य निधेष नै गरिन्छ ।’

मेरो कार्यकर्ता हो, मेरो मान्छे हो, त्यसैले पाउनुपर्छ भन्ने ढंगले अघि बढ्ने हो भने समस्या हुने पनि उनले बताए। ‘विज्ञप्ति जारी गर्ने साथीहरुलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्नुहोस् । हामी छौँ भनेर उचाल्ने परम्पराले थप समस्या सिर्जना हुन्छ । विज्ञप्ति नै निकालेर हामी छौँ भन्दै उचाल्नेहरुहरुलाई मेरो अनुरोध छ,’ उहाँले भन्नुभयो ‘नीति, आदेश केही नमान्ने हो भने कहाँ–कहाँ, कस–कसलाई के–के लेख्न दिने हो? तपाईँहरु भन्नुहोस् । तर, आदेश, कानुन र नीतिको पालना त गर्नुपर्ला नि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *