विपन्नलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारको अग्रसरता – Nepal Press

विपन्नलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारको अग्रसरता

रुपन्देही । नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखेका स्थानीय सरकारले विपन्न समुदायलाई आत्मनिर्भर बनाउन केही नयाँ कामको शुरुवात गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले नगरक्षेत्रका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरेको छ । निःशुल्क बाख्रा र पालनका लागि खोर बनाउनसमेत रकम पाएपछि आफूलाई नकै खुशी लागेको बुटवल १३ का किसान मिलन थापाले बताए ।

लगानी नहुँदा आफ्नो दैनिकी चलाउनका लागि अन्य काम गर्न नसकेको समयमा पाएको सहयोगले अब व्यवसयिक रुपमा बाख्रा पालन गर्ने हौसला मिलेको उनले बताए ।

टोलटोलमा टोली खटाएर गरिब तथा विपन्न परिवारको पहिचान गरी त्यही आधारमा टोल विकास संस्थामार्फत विपन्न परिवारलाई बाख्रा वितरण गरिएको नगर उपप्रमुख गोमा आचार्यले जानकारी दिइन् ।

बुटवलका वडा नं. १३, १६, १७ र १९ का अतिविपन्न समुदायका १९ घर परिवारलाई टोल विकास संस्थामार्फत आयआर्जनमा टेवा पुर्‍याउने र स्वरोजगार गराउने भन्दै बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले बताइन् ।

विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रति परिवार पाँच वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रति परिवार १५ हजारका दरले उपलव्ध गराइएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

सुवेदीले कृषिमा आकर्षण बढाउने, कृषिलाई व्यवसायिक बनाउन र साना साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारका कार्यक्रम गरिएको बताए ।

उपमहानगरको चालु आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रा पालन गर्ने र त्यसलाई व्यवसायिक बनाउन किसानमा हौसला बढाउने योजना थपेको उपमहानगरको भनाइ छ । बुटवल १३ की प्रेमकली गुरुङ, सोही वडाका धनबहादुर गुरुङ, कृष्णबहादुर थापा, धनमाया गुरुङ, कृष्णबहादुर विक, वडा नं. १६ का परशुराम थारु, धनमाया नेपाली, केशमाया जैशीलगायतलाई व्यवसायिक बाख्रा पालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको हो ।

लागत साझेदारीमा ५० जना किसानलाई गाई

तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक/एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।

संघीय कार्यक्रमअनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ ।
किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशुबीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन् । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले दूधमा प्रतिलिटर एक रुपैंयाँ अनुदानसमेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवा/सुविधा लिन किसानलाई आग्रह गरिन् ।

यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गरे । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्णप्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *