रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डनको क्वाटरफाइनलमा


एजेन्सी । आआफ्नो खेलमा जित निकाल्दै आठपल्टको च्याम्पियन रोजर फेडेरर र विश्व नम्बर एक नोभाक जोकोभिचले ग्राण्डस्लाम टेनिस विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
२० ग्राण्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेका ३४ वर्षीय सर्वियाली जोकोभिचले चिलीका क्रिष्टियन गारिनमाथि ६–२, ६–४ र ६–२ को सहज जित निकाले ।
रफायल नाडालसँगै २० ग्राण्डस्लाम उपाधिको कीर्तिमानधारी फेडेररले इटलीका लोरेन्जो सोनेगोलाई ७–५, ६–४र ६–२ ले हराए ।
स्वीस सुपरस्टार फेडेररले क्वाटरफाइनलमा ड्यानिएल मेदभेदेव वा पोल्याण्डका हुवर्ट हुर्काजमध्ये एकसँग खेल्नेछन् । यी दुईबीचको खेल वर्षाका कारण स्थगित हुन पुगेको थियो । जहाँ मेदभेदेवले २–१ ले अग्रता बनाएका थिए ।
जेकोभिचले भने मार्टोन फुसोभिचसँग खेल्नेछन् । हंगेरीका यी खेलाडीले अन्तिम–१६ को खेलमा पाँचौं वरियताका रुसी खेलाडी एन्ड्री रुम्लेवलाई पराजित गरेका हुन् ।
जेकोभिचका लागि यो ५० औं ग्राण्डस्लाम क्वाटरफाइनल हुने । उनीभन्दा अगाडि फेडेररमात्र छन् । फेडेरर ५८ औं पल्ट ग्राण्डलाम क्वाटरफाइनलमा पुगेका छन् । ३९ वर्ष ३३७ दिनका फेडेरर विम्बल्डनको क्वाटरफाइनलमा पुग्ने सबैभन्दा पाका खेलाडीसमेत बनेका छन् ।