माओवादी प्रवक्ता श्रेष्ठ कांग्रेसका प्रमुख सचेतकको आसनमा बसेपछि.. – Nepal Press

माओवादी प्रवक्ता श्रेष्ठ कांग्रेसका प्रमुख सचेतकको आसनमा बसेपछि..

काठमाडौं । सरकारविरुद्ध विपक्षी गठबन्धन बनाएर संयुक्त रूपमा अदालत र सडकमा पुगेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रियसभाको पहिलो लहरमा बस्ने नेताहरूको कुर्सी साझेदारी भएको छ ।

राष्ट्रियसभामा प्रमुख विपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले आफू बस्ने कुर्सी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई दिएर आफू पछिल्लो लहरमा बसेकी छन् । श्रेष्ठ प्रतिपक्षका लागि तोकिएको कुर्सीमा नबसी प्रमुख विपक्षी कांग्रेसका लागि तोकिएको पहिलो लहरमा बसेका हुन् ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटालाई सत्तापक्षभन्दा अर्को लहरमा बस्ने व्यवस्था मिलाइएको थियो ।

प्रतिपक्ष बस्ने लहरमा माओवादी संसदीय दलका नेता दिनानाथ शर्मा र जसपाका संसदीय दलका नेता शेखर सिंहलाई बस्ने आसन संसद सचिवालयले मिलाइदिएको थियो ।

सचिवालयका एक अधिकारीले भने, ‘राष्ट्रियसभामा सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका सांसदहरू बस्ने ठाउँ अध्यक्षले तोक्ने हो । अध्यक्षले प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी माओवादी केन्द्र तथा जसपाका नेताका लागि सिट तोक्नुभएको हो । तर, श्रेष्ठ कांग्रेसको लहरमा गएर बस्नुभएको छ ।’

सचिवालयले श्रेष्ठलाई विपक्षी बेञ्चको दोस्रो लहरमा बस्ने व्यवस्था मिलाएको थियो । श्रेष्ठले आफूलाई बोल्ने समय कम दिइएकोमा समेत आपत्ति जनाएका थिए । उनले माओवादी केन्द्रका सांसदहरुले बोल्न पाउने भनेर सचिवालयले तोकेको २० मिनेट आफूलाई मात्र दिइनुपर्ने बताएका थिए ।

आफ्नो अपमान भएको भन्दै श्रेष्ठले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको आलोचना समेत गरेका छन् । राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनको समर्थनमा निर्वाचित माधव नेपाल समूहका सांसद खिमलाल देवकोटा पनि विपक्षी लहरमै बसेका छन् ।

आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन लिखित माग गरेका एमालेका सांसद बेदुराम भुसाल भने राष्ट्रियसभा बैठकमा सहभागी भएका छैनन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम भने राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सदस्यको लागि तोकिएको लहरमा मन्त्रीहरू भन्दा पछाडि बस्ने गरेका छन् ।

यसैबीच राष्ट्रियसभामा प्रमुख विपक्षी दलको नेता को हुने भन्ने बहस पनि चलेको छ । सिट संख्याको आधारमा सत्तापक्ष एमालेपछि दोस्रो ठूलो दल माओवादी केन्द्र हो ।

माओवादीका १३ सांसद छन् भने कांग्रेसका ७ जना छन् । तर संविधान र राष्ट्रियसभा नियमावलीले एउटै संघीय संसदीय दलको परिकल्पना गरेको र संघीय संसदीय दलको नेताले राष्ट्रियसभामा दलको नेता तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार प्रधानमन्त्रीले सत्तापक्षको नेता सुमन प्याकुरेल तोकेका छन् भने विपक्षी दलका नेता शेरवहादुर देउवाले राष्ट्रियसभामा विपक्षी दलको नेता राधेश्याम अधिकारीलाई तोकेका छन् ।

निर्वाचनअघि बनेको संघीय संसदका पदाधिकारीको सेवा सुविधासम्बन्धी एनेमा भने राष्ट्रियसभामा जुन दोस्रो दल हुन्छ त्यो विपक्षी दल हुने व्यवस्था छ ।

यस विषयमा राष्ट्रियसभा अध्यक्षले गत साता माओवादी र कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेका थिए । उनीहरूले आफूहरूबीच छलफलको आवश्यकता रहेको बताएका थिए ।

 


प्रतिक्रिया

One thought on “माओवादी प्रवक्ता श्रेष्ठ कांग्रेसका प्रमुख सचेतकको आसनमा बसेपछि..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर