ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने – Nepal Press

ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ ।

एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसला आउँदासम्म ज जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसकेका छन् ।

बैठकपछि पनि उपमहासचिव बिष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिएका थिए ।

नेपालले आफू सकारात्मक रहे पनि वक्तव्यको मस्यौदा कार्यदलले तयार पारोस् भनेका थिए । त्यसका लागि ओलीसँग भेटेर छलफल गर्न गर्न आफूहरुले गरेको आग्रह नेपालले अश्वीकार गरेको पौडेलले बताएका छन् ।

विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर समेत गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाई सम्भवतः आज सकिदैछ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोजेका छन् ।

त्यसका लागि केन्द्रीय कमिटी बैठकमार्फत उनले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएका हुन् । तर नेपाल पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ ।

हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको भनाइ छ । तर अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताएका छन् ।

यसबीचमा वार्तामा सहभागी माधव पक्षका नेताहरुले माधव नेपाललाई प्रभावित पार्न सक्ने नेता भीम रावलसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । ओलीले रावललाई आइतवार साँझ बोलाएर बालुवाटारमा करीव डेढ घण्टा कुरा गरेका थिए ।

अ‍ोलीलाई भेट्नुअघि रावल माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । अ‍ोली र रावलबीच के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर सर्वोच्च अदालतको फैसला जे आउँछ त्यस आधारमा एमाले एकता हुनसक्ने भन्दै रावलले हस्ताक्षर फिर्ता नहुने जानकारी दिएको बताइएको छ ।

ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताएका छन् ।

माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाअघि एमालेका २३ जनामध्ये कुनै पनि सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता नलिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर