अर्घाखाँची कांग्रेस हाँक्ने आधा दर्जनको इच्छा – Nepal Press

अर्घाखाँची कांग्रेस हाँक्ने आधा दर्जनको इच्छा

अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छ, जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २३ गते जिल्ला नेतृत्वको चयनका लागि अधिवेशन हुँदैछ ।

१३ औं महाधिवेशनमा अर्घाखाँची मात्रै एक त्यस्तो जिल्ला थियो, जहाँ सर्वसम्मत रुपमा सभापति चयन भएको थियो । विष्णु खनाल ‘मुस्कान’ सर्वसम्मत सभापति बनेका थिए ।

सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका छन् । वर्तमान सभपाति खनालसहित सबै प्रत्याशीले निर्वाचन तयारीलाई तीव्रता दिएका छन् ।

जिल्ला सभापतिको अर्का दावेदार हुन् वर्तमान सचिव छविलाल पौडेल । अर्घाखाँची कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति भएर पार्टी हाँक्न तयार भएको बताउँछन् ।

सभापतिका अर्का उम्मेदवार हुन्, इन्द्रमणि पौडेल । महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् । उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् ।

यस्तै अर्का उम्मेदवार हुन् शान्ता भण्डारी , उनी अहिले उप-सभापति हुन् । उनी महिला नेतृत्वमा आउनुपर्ने बताउँदै महिलाहरुको अधिकार स्थापित गराउन र महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन् ।

महासमिति सदस्य यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न स्थायी जागिर छोडेर मैदानमा उत्रने चर्चा छ ।

महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न भेटघाटलाई तीव्रता दिएका छन् ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अर्घाखाँची जिल्ला अधिवेशन आगामि साउन २३ गते हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर