विप्लव नेतृत्वको नेकपाले भन्यो : सम्झौता कार्यान्वयन नहुँदा सरकारलाई नोक्सानी (भिडियो) – Nepal Press

विप्लव नेतृत्वको नेकपाले भन्यो : सम्झौता कार्यान्वयन नहुँदा सरकारलाई नोक्सानी (भिडियो)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आफुहरुसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने चेतावनी दिएका छन् ।

पार्टीले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले संसदवादी दलको राजनीतिक संघर्षले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्ने बताए ।

सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘(कैदी) छोड्नु भएन भने पनि हामी आत्तिहाल्नुपर्ने छैन । किनभने यो त राजनीति हो । परिवर्तन, आन्दोलन हो । संघर्ष हो । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला । त्योभन्दा ठूलो नोक्सानी सरकारलाई हुन्छ । मुल्य चुक्ता सरकारले गर्नुपर्छ ।’

उनले सहमतिअनुसार बन्दी बनेका आफ्ना नेता-कार्यकर्ता छोड्न ढिलाई भईरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको बताए । यद्यपि, सम्झौताको राजनीतिक महत्व घट्यो भन्ने भनाईमा सत्यता नभएको उनको दाबी छ ।

सहमति कार्यान्वयनमा जटिलता आएको भन्दै विश्वकर्माले आफुहरुसँगको सहमति कार्यान्वयन गर्नैपर्नेमा जोड दिए । बोलेर पुरा नगर्ने प्रवृत्ति राजनीतिमा र धेरै संसदवादमा रहेको उल्लेख गर्दै उनले जनतासँगको राजनीतिमा त्यो स्वीकार नहुने चेतावनी दिए ।

उनले भने, ‘कार्यान्वयनमा केही ढिलासुस्ति भयो भन्दैमा फागुन २१ गते हामीले हस्ताक्षर गरेको सरकारसँगको सम्झौताको उचाई र प्रभाव घट्यो भन्ने होइन । त्यसको कार्यान्वयनमा केही जटिलता आयो भन्ने मात्रै हो । त्यसले केही प्रश्न खडा गरेको छ । मास लेबलमा पनि । आम पार्टी पंक्तिमा पनि ।’

उनले थपे, ‘कि बोल्नु हुदैन । बोलेपछि पुरा गर्नुपर्छ । बोलेर पुरा गरिएन भने त्यो फट्याईमा जान्छ । राजनीतिमा संसदवादतिर जान्छ । जे भने पनि हुने, गर्न केही नगर्नुपर्ने । तर हामीसँग त्यो चल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर