निजीकरण गर्न खोजिएको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित – Nepal Press

निजीकरण गर्न खोजिएको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

प्रबन्ध निर्देशक पौडेल भन्छन्- कर्मचारीको सहमतिबेगर केही कदम चाल्दिन

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम निजीकरणको चर्चासँगै निगमका कर्मचारी आन्दोलित बनेका छन् । निगमलाई ५४ अर्ब अधिकृत पुँजीको सट्टा ५० अर्ब कायम गरी पूर्ण निजीकरणको प्रस्तावसहित कम्पनीको (डीडीए) प्रतिवेदन पर्यटन मन्त्रालय हुँदै अर्थमन्त्रालय पठाएको निगमका कर्मचारी संगगठनको आरोप छ । कम्पनीको कुल चुक्ता पूँजी २० अर्ब कायम गरिने प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीलाई कुनै सुइँको नदिइकन कम्पनीको प्रबन्धपत्र संशोधनसहित प्रस्ताव अर्थमन्त्रमलय पुगेको भन्दै उनीहरूले गुनासो गरे । कर्मचारीको सहमतिबिना प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले संस्थालाई निजीकरण गर्न लागेको निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले बताए । ‘केही व्यक्तिको मिलोमतोमा उहाँले कर्मचारीलाई गुमराहमा राखेर संस्थालाई निजीकरण गर्न लाग्नुभयो’, पुनले भने ।

प्रबन्ध निर्देशक पौडेलले भने कर्मचारीको भनाइको खण्डन गरेका छन् । उनले मन्त्रालयले निगमलाई नाफामा लैजानका लागि प्रस्तावित मोडल माग गरेकोमा प्रतिउत्तरमा निगमले पनि निजीकरण गर्न सकिने पनि भनेर मन्त्रालयमा प्रस्ताव लगेको बताए । पौडेलले नेपाल प्रेससँग भने, ‘सो प्रस्तावमा कुनै छलफल नभएको अवस्थामा आन्दोलन गर्नु ठीक हुन्न । कर्मचारीको रायबेगर म कुनै कदम चाल्दिन । उहाँसँग केही मनमुटाव पनि छैन ।’

निगमले अहिले कुल पुँजीमध्ये संस्थापक सेयर खरिदका लागि ५१ प्रतिशत, ख्यातिप्राप्ती विदेशी वायुसेवा कम्पनीका लागि ३० प्रतिशत, हवाई सेवा पर्यटन व्यवसायी तथा सर्वसाधारणका लागि १४ प्रतिशत, कम्पनीमा बहालवाला तथा पूर्वकर्मचारीका लागि ५ प्रतिशत छुट्याएको छ ।

निगम सुधारका लागि छफलसँगै मन्त्रालयले पत्र पठाएर प्रस्तावित मोडेल तयार पर्न आग्रह गरेपछि संचालक समितिका सदस्य किशोर प्रधानको संयोजकत्वमा मन्त्रालयका सह-सचिव वुद्धिसागर लामिछानेसहितको कार्यदल दुई मोडल तयार पारेको थियो ।
प्रस्तावित मोडलमा एउटा सरकारकै स्वामित्वमा भइरहेको कार्यप्रणालीलाई परिमार्जित गर्दै लैजाने र अर्को निगमलाई निजीकरण गर्ने रहेको संयोजक प्रधान बताउँछन् ।

आफूहरूले अध्ययनका लागि पत्र पठाएको भन्दै उनले कर्मचारीको सेवासुविधा कटौति नगरी सहकार्यमै अघि बढ्ने बताए । कर्मचारी संघका उपाध्यक्ष पुन भने अर्थमन्त्रालयसम्म फाइल पठाइसकेको भन्दै आपत्ति जनाउँछन् । ‘विधान नै परिवर्तन गरेर संस्थालाई निजीकरण गर्न सक्ने गरी अर्थमा पठाइसकेको रहेछ । संस्थालाई नाफामा लैजाने अनेक उपाय छन् । यसमा गम्भीर छलफल हुनुपर्छ ।’

आइतबार नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निगम, नेपाल वायुसेवा कर्मचारी संघले विज्ञप्ती जारी गरी निगमको कार्यलाई भर्त्सनासमेत गरेका छन् । यस्तै, कर्मचारी संगठनले निगमका मेनेजर लेभलका कर्मचारीलाई भेला गरी आज छलफल समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *