ओली र माधवबीच एक-अर्काको रिस नमरुन्जेल पार्टी एकता जटिल : वामदेव – Nepal Press

ओली र माधवबीच एक-अर्काको रिस नमरुन्जेल पार्टी एकता जटिल : वामदेव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकतामा देखिएको बाधा हटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । बैठकले नै मलाई एकताको प्रयत्न गर्न जिम्मेवारी दिएको छ’, गौतमले भने । उनले अहिले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक-आपसमा रिसाएको अवस्था रहेको भन्दै रिस शान्त नभएसम्म एकता जटिल रहेको बताए ।

‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजी सँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ । हो, त्यतातिर लागिरहेको छु’, गौतमको भनाइ छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि पार्टी एकतामा सहजता हुने गौतमको दावी छ । ‘एकता सम्भव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ’ गौतमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर